Aamsanchar

१ लाख ४ हजार रुपैयाँ लेबी फिर्ता दिन सांसद मनाङ्गेको माग

Author Image
आइतवार, माघ ४, २०७७

पोखरा । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका छन् । सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए । पोहोर असार १९ गते नेकपा प्रवेश गरेका भनिएका मनाङ्गे प्रदेश सभामा सत्ता पक्षकै लहरमा बस्दै आएका थिए । उनले दुई तिहाइ बहुमतका लागिमात्र नेकपालाई समर्थन गरेको बताएका छन् । मनाङ्गेले स्वतन्त्र सांसद उल्लेख गरिएको परिचयपत्रसमेत पठाएका छन् । तर, सांसद मनाङ्गेले पाउने पारिश्रमिकबाट नेकपामा लेबी गएको देखिएको छ ।

 

संसद सचिवालयको रेकर्डमा उनको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएको छ । आफू स्वतन्त्र निर्वाचित भएको र संसदमा पनि स्वतन्त्र हैसियतमै रहेकाले संसद सचिवालयबाट नेकपाले लेबी काटेको भन्दै मनाङ्गेले आपत्ति जनाएका छन् । ‘म स्वतन्त्र नै हुँ, कुनै पार्टीमा प्रवेश गरेको आधार छैन, समर्थनमात्र हो,’ मनाङ्गेले भने, ‘कुनै पार्टीले जबर्जस्ती गरेको रहेछ भने बरु राजीनामा दिन सक्छु ।’

उनले सचिवालयका सचिव हरिराज पोखरेललाई लेबी काटिएकोबारे आपत्ति जनाउँदै फिर्ता लिने बताएका छन् । पोखरेलले मौखिक जानकारीले नहुने बताएका थिए । ‘मैले सांसदबाट बापत पाएको पारिश्रमिकबाट के÷कसो भयो भनेर बैंकमा हेरिनँ । जुन दिन लेबी काटिएको थाहा पाएँ, मैले आपत्ति जनाएको छु,’ मनाङ्गेले भने, ‘स्वतन्त्र सांसदको लेबी काटेर नेकपालाई दिन मिल्छ ?  पार्टीमै नभएको मान्छेबाट गएको लेबी फिर्ता गर्न छिट्टै निवेदन दिन्छु ।’

निर्वाचन आयोगको रेकर्डमा पनि उनी स्वतन्त्र सांसदकै रुपमा रहेको र संसदमा पनि उनी नेकपामा प्रवेश गरेको आधिकारिक जानकारी अझै खुल्न सकेको छैन । संसद सचिवालयमा नेकपाले सांसदको सूची पठाएको भए पनि उनी आधिकारिक प्रवेश गरेको जानकारी नभएको पाइएको छ ।

‘उनी सत्ता पक्षकै लहरमा बस्दै आएका थिए, लेबी पनि काटिएको छ,’ प्रदेश सभा सचिवालयका कानुन उपसचिव राजेन्द्र न्यौपानेले भने, ‘कागजातबारे अध्ययन गर्दैछौं ।’ नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले राजीव सत्ता पक्षकै सांसद भएको दाबी गरे । नेपालको दल सम्बन्धी ऐनले कुनै दलको उम्मेदवार नभई स्वतन्त्र रुपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ । तर, आफू नेकपा प्रवेश गरेको कुनै आधार नै नभएको र स्वतन्त्र नै रहेको मनाङेको दाबी छ ।

सत्ता समीकरणमा असर

मनाङ्गे नेकपा संसदीय दलको सदस्य नभइ स्वतन्त्र रहँदा जुनसुकै पार्टीलाई पनि समर्थन गर्न पाउने छन् । सांसद मनाङ्गे आफूले मुख्यमन्त्री गुरुङ र अर्को समूहलाई समर्थन गर्नैपर्छ भन्ने नरहेको दाबी गरे । मनाङ्गे स्वतन्त्र हुँदा सत्ता समीकरण मासमेत असर गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अहिले २६ सांसद छन् । सरकारलाई ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि साथ दिँदा २९ सदस्य पुग्छ । पार्टी विभाजन भएको खण्डमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न ३१ सांसद चाहिन्छ ।

गण्डकीमा अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका १३, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् । यसैबीच, नेकपा गण्डकी प्रदेश संसदीय दलले संसद सचिवालयमा अर्को व्यवस्था नभएसम्मको लागि नेकपाका कुनै पनि सांसदको पारिश्रमिकबाट लेबी रकम कट्टा गरी पठाउने कामलाई रोक्का गरिदिन पत्र काटेको छ ।

राजनीतिक हिसाबले दुई टुक्रा भएपछि प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको आन्तरिक जीवनमा असामान्य अवस्था सिर्जना भएकाले नेकपा सांसदले पाउने पारिश्रमिकबाट लेबी नकाट्न संसद सचिवालयलाई पत्र पठाएका हुन् । नेकपाले प्रमुख सचेतक र समितिका सभापतिले पाउने ५६ हजार ८ सय ४० तथा सचेतकले पाउने ५४ हजार ५ सय २० रुपैयाँबाट ७ हजार ५ सय रुपैयाँ लेबी कट्टा गरी सीधै पार्टीको खातामा पठाउने गरेको थियो । पारिश्रमिकबापत प्राप्त गर्ने ५२ हजार २ सयबाट ६ हजार ५ सय रुपैयाँ लेबी पार्टीको खातामा पठाएर बाँकी नेकपाका सांसदले बुझ्दै आएका थिए ।

नेकपा विभाजन भएर देशभर सामानान्तर कमिटी बनेपछि प्रमुख सचेतक अधिकारीले पुस २४ गते पत्र लेखेर प्रदेश सभा सचिवालयमा लेबी काट्ने काम रोक्का गर्न अनुरोध गरेका थिए । नेपाली कांग्रेसका सांसदले पाउने पारिश्रमिकबाट ६ हजार ७ सय ५० रुपैयाँ लेबी सीधै पार्टीको खातामा जम्मा हुन्छ । गण्डकी प्रदेश सभामा सहभागी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदको भने संसदबाटै सीधै लेबी काट्ने व्यवस्था छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर