Aamsanchar

प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध ,सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाण्डौ- नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन थालेको छ । सामाजिक सञ्जालमा नागरिक अगुवा, निजी क्षेत्र र नागरिकले आलोचनात्मक टिप्पणी गर्न थालेका छन् । समस्याको शान्तिपूर्ण समाधान खोज्नुको साटो नागरिकलाई दुस्ख दिने काम भएको भन्दै आलोचना भइरहेको छ ।

अभियन्ता कनकमणि दीक्षितले नागरिकलाई उर्दी जारी गरेर बन्द हड्तालको घोषणा हुनु दुस्खद भएको बताउनु भएको छ । उहाँले लेख्नु भएको छ – ‘आमहड्ताल ऐच्छिक हुनु पर्ने, आह्वान गर्नुपर्ने-नागरिकलाई उर्दी पो जारी गरेछन् ।’

यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले पनि बन्द हड्तालको विरोध जनाउनु भएको छ । बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेपछि उहाँले लेख्नु भएको छ-‘गैरकानुनी काम सधैं गैर-कानुनी नै हुन्छ, बन्द हड्तालमा व्यक्तिगत वा सार्वजनिक सम्पत्ति क्षति अक्षम्य हो । यस्ता गतिविधिको घोर भर्त्सना गर्दछु ।’

यस्तै लेखक खगेन्द्र संग्रौलाले राजनीतिक पार्टीले बन्दको साटो अझै पनि रचनात्मक कार्यक्रम गर्न नसकेको भन्दै टिप्पणी गर्नु भएको छ । उहाँले विरोधको चौतर्फी हड्तालभन्दा रचनात्मक, दबाबकारी र प्रभावकारी जुक्ति नेताहरुको दिमागमा अझै फुर्न सकेन भन्नु भएको छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नागरिकको काम गरी खान पाउने अधिकार कुण्ठित गरिएको भन्दै विरोध जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ-‘नागरिकको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुने गरि कुनै पनि प्रकारको बन्द हड्ताल जुलुससभा नगर्न दलहरूलाई आग्रह गर्दछु । साथै नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनेर गरेको प्रतिबद्धता पनि स्मरण गराउन चाहन्छु ।’ उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बन्द हड्तालको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर