Aamsanchar

निर्वाचनका लागि आयोगद्वारा सात करोड ९८ लाख रुपियाँ बजेट माग

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाडौँ –निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि तयार गरिएको जानकारी दिनुभयो । उहाँले कोभिड महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा त्यसमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतालाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बजेट व्यवस्थापनलगायतका विषयमा आयोगमा मङ्गलबार नै छलफल भएको थियो । प्रवक्ता श्रेष्ठले त्यही छलफलका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताउनुभयो । उहाँले विगतका निर्वाचनमा प्रयोग गरी हाल रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जानकारी दिँदै यसले गर्दा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिदका लागि बजेटमा समावेश नगरेको बताउनुभयो ।

आयोगका अनुुसार कोभिड सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रकम आयोगले प्रस्ताव गरेको छ । निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचनअधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने जानकारी उहाँले दिनुभयो ।

परराष्ट्रमन्त्रीसँग छलफल

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार स्वदेशी, विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न आयोगले अनुमति दिन सक्ने व्यवस्था रहेको छ ।

आगामी निर्वाचनको पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने विषयमा मन्त्रीसँग छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ती नियोग तथा संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्ने सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि आयोगबाट भएका व्यवस्थापकीय कामका बारेमा जानकारी गराउँदै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्व रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर