Aamsanchar

नेपाली पक्षलाई थाहै नदिइ भारतीय पक्षद्वारा गण्डक बाँधको मर्मत

Author Image
शनिवार, माघ २४, २०७७

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्रमा रहेको गण्डक बाँधको स्पर मर्मत भारतीय पक्षले एकलौटी रुपमा गरी रहेको छ । नेपाली पक्षलाई थाहै नदिइ एकलौटी तरिकाले भारतीय पक्षले मर्मत गर्न थालेपछि स्थानीयले विरोध गरेका हुन् । गुणस्तरहीन सामग्री प्रयोग गरेर स्परको मर्मत गरिएपछि त्यसको मापदण्डसहितको स्टिमेट नेपाली पक्षले माग गरे पनि भारतीय पक्षले दिन आनाकानी गरिरहेको छ ।

गण्डक बाँध अन्र्तगत सबै संरचनाको मर्मत सम्भार गर्ने जिम्मेवारी भारतीय पक्षको हो । त्यसको जानकारीसहितको स्टिमेट नेपाली पक्षलाई दिएर काम सुरु गर्नुपर्ने गण्डक योजनाका भूआर्जन अधिकारी तारासिंह थापाले बताउनुभयो । नेपालतर्फ हुने कामको अनुगमन र समन्वय गर्ने जिम्मेवारी भूआर्जन कार्यालयको भए पनि नेपाली पक्षलाई सुइँकोसम्म नदिएको थापाको गुनासो छ ।

अहिले गण्डक बाँधको ठोकर नम्बर ६, ७, ९, ११ र पक्लिहवा क्षेत्रका केही ठोकरहरूमा रहेका स्परको मर्मतको काम तीव्र गतिमा भइरहेको छ । मर्मत कार्यमा प्रयोग भएका ढुंगा र बालुवासमेत नारायणी नदीबाट चोरी गरी प्रयोग गरिरहेको नेपाली पक्षको आरोप छ ।

नदीजन्य पदार्थ आवश्यक भएमा गाउँपालिकासँग रोयल्टी काट्नु पर्ने भए पनि आफूखुसी नदीदोहन गरी निकालेर प्रयोग गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

स्पर मर्मतको काम अहिले धमाधम भारतीय ठेकेदार मार्फत भइरहेको छ । तर, ठेकेदारहरूले भने स्थानीय नेपाली युवाहरूलाई पेटी ठेक्कामा काम दिने गरेका छन् । स्पर निर्माणका लागि भारतीय पक्षले १२ करोड भारु खर्च हुने जनाएको छ । गुणस्तरहीन काम हुँदा हरेक वर्षको वर्षायाममा बाँध फुट्ने जोखिम बढेको भने अहिले पनि दक्षिण क्षेत्रका १३ गाउँ जोखिममा पर्न सक्ने देखिएको छ ।

गुणस्तरहीन काम भए त्यसको नकारात्मक प्रभाव नेपाली बस्तीमा पर्ने भएकाले गण्डक सम्झौताअनुसार अनुगनमन र समन्वय गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर