Aamsanchar

मेचीपारि : एउटै जग्गाको लालपुर्जा नेपाली र भारतीयसँग

Author Image
आइतवार, माघ २५, २०७७

भद्रपुर — भद्रपुर–३ को मेचीपारिका मिटिङ राजवंशी वर्षौं पहिलेदेखि आफूले जोतभोग गर्दै आएको करिब ३ बिघा जमिन दाबी गर्दै एक भारतीय परिवारले उजुरी गरेपछि तनावमा छन् । आफू जग्गाधनी भएको दाबी गर्ने विहारको भाउगाउँ ग्राम पञ्चायतका गोनु पासवानले जमिन फिर्ताको माग गर्दै गलगलिया प्रहरीमा उजुरी गरेका हुन् ।उजुरीका आधारमा बिहीबार दिउँसो गलगलियाबाट प्रहरीको एक टोली अनुसन्धानका लागि नेपाल–भारत सीमाको दशगजामा आएको थियो । प्रहरीले भारत र नेपाल दुवैतिरका जनप्रतिनिधिसँग जमिन विवादबारे कुरा गर्‍यो । जमिन आफ्नो दाबी गर्ने राजवंशी र पासवान दुवैसँग धनीपुर्जा छ । राजवंशी भन्छन्, ‘मेरो बुबाको पालादेखि यो जमिन भोग गर्दै आएका हौं । अहिले कसैले मेरो जमिन हो भन्नेबित्तिकै हामी कहाँ छाड्छौं र ?’

राजवंशीकी आमा जसौ राजवंशीका नामको जमिनको धनीपुर्जा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले २०६७ सालमा जारी गरेको थियो । भारतीयले भने करिब ३० वर्ष पुरानो लालपुर्जा देखाएर जमिन आफ्नो भएको दाबी गरिरहेको स्थानीय जनप्रतिनिधि अरुण राजवंशीले जनाए । यो जमिन दशगजा नजिकैको भारतीय भूमितिर पर्छ ।

राजवंशीका अनुसार दुवैसँग धनीपुर्जा भएको र दुवैले आफ्नो भनिरहेका यस्ता जमिन सीमा क्षेत्रमा धेरै छन् । भारतीयको नेपालतिर र नेपालीको भारततिर जमिन हुनाले भोगचलनमा समस्यासमेत आउने गरेको छ । राजवंशी भन्छन्, ‘दुवै देशका अधिकारीसँगको वार्ता र संवादबाट मात्रै यस्ता समस्या सुल्झाउन सकिन्छ, नत्र गाह्रो छ ।’

पछिल्लो समय नेपाल सरकारले सीमामा सशस्त्र प्रहरी खटाएको छ । ठाउँठाउँमा राखिएका सशस्त्रका बीओपी नेपाली भूमिमा निर्बाध ओहोरदोहोर गर्ने भारतीयका लागि बाधक भएका छन् । गएको वैशाख २२ मा जिल्लाको दक्षिण भेगको झापा गाउँपालिका–४ को १३१र१ नम्बर सीमा स्तम्भ नजिककै सशस्त्र प्रहरीको सुरक्षा पोस्टमा भारतीयले आक्रमण गरे । डेढ सय जनाभन्दा बढीको संख्यामा घरेलु हतियारसहित आएका उनीहरूलाई रोक्न सशस्त्रले दुई राउन्ड हवाई फायर गरेपछि तितरवितर भए ।

शनिबार साँझ करिब अन्दाजी साढे ७ बजे जिल्लाकै अर्को सीमावर्ती कचनकबल गाउँपालिका–१ को सुरक्षा पोस्टमा अघिल्लो घटनामा झैं आक्रमणमा उत्रिए भारतीयहरू । सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर १२५/१० नम्बर स्तम्भ नजिकको सुरक्षा पोस्टलाई उनीहरूले भत्काउन भ्याए । पछि प्रहरी आएर एक राउन्ड हवाई फायरपछि उनीहरू भागेका थिए ।

कोरोना संक्रमण रोक्न सरकारले भारतीय सीमावर्ती क्षेत्रमा अस्थायी सुरक्षा पोस्ट खडा गरेपछि केही समयअघि पटकपटक आक्रमण गरे भारतीयले । आक्रमणको मूल कारण दशगजामा दुवैतिरका नागरिकले लगाएको खेती थियो । झापाको सुरक्षा निकायका अनुसार दक्षिण झापाका अधिकांश भूभागमा नेपालीको पारि र भारतीयको वारि खेती छ । झापा गाउँपालिकाको घटनाको कारक पनि दशगजाको खेती नै थियो । झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङमादेखि खजुरगाछीसम्मको करिब १ सय ४४ किलोमिटर भारतसँगको सीमा खुला छ । यस क्षेत्रका विभिन्न स्थानमा भारतीय र नेपाली दुवै पक्षले दशगजामा खेती गर्दै आएका छन् ।

मेचीनगर–७ को भान्सा खोलामा पनि त्यस्तै छ । यहाँका करिब एक दर्जन घर त भारततिर पर्छ । ‘नेपाली नागरिक भए पनि उनीको घर र उनीहरूले जोतभोग गर्दै आएको जमिन भारतीय भूमिमा छ,’ स्थानीय मैया उप्रेतीले भनिन्, ‘दुवै देशको सुझबुझमा यो क्रम वर्षौंदेखि जारी छ ।’

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा सीमा क्षेत्रको करिब ३० फिट वारिपारि केही गर्न पाइँदैन । दशगजा भनिने यो क्षेत्रमा नेपाल र भारत दुवैतिरबाट बराबर जमिन भोग गरेको पाइएको छ । भारतसँग सीमा जोडिएका मेचीनगर, भद्रपुर, घेराबारी, टाघनडुब्बा र गौरीगन्जलगायत क्षेत्रमा दुवैतर्फबाट दशगजा अतिक्रमण गरी खेती गरिएको पाइएको नापी विभाग स्रोतले जनाएको छ । ‘कतै नेपाल त कतै भारतले दशगजा अतिक्रमण गरेर खेती गरेको पाइन्छ,’ सीमा व्यवस्थापनमा संलग्न नापी विभागका एक जना अधिकृतले भने, ‘यसो गर्न कुनै हालतमा मिल्दैन, तर वर्षौंदेखि यही भइरहेको छ ।’

कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर