Aamsanchar

मोरङमा डिजेल तस्करीमा संलग्न गिरोहको आक्रमणमा परेर प्रहरीका असइ गम्भीर घाइते

Author Image
आइतवार, माघ २५, २०७७

विराटनगर – मोरङमा डिजेल तस्करीमा संलग्न गिरोहको आक्रमणमा परेर नेपाल प्रहरीका एक जना असइ (सहायक निरीक्षक) गम्भीर घाइते भएका छन्। जहदा गाउँपालिका–५ लक्ष्मीनीयास्थित प्रहरी चौकी मझारेका इन्चार्ज (प्रमुख) असइ रामकुमार माझीमाथि शनिबार साँझ ६:३० बजेतिर ज्यानै लिने हिसाबले आक्रमण गरिएको हो। उनीमाथि निर्घात ढंगले कुटपिट गरिएको छ। गम्भीर घाइते माझीलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको छ।

डिजेल तस्करी गरेर भारततिर लैजाँदै गरेका जहदा–७ का २१ वर्षीय बब्लु साहले असइ माझीमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार साँझको समयमा डिजेल तस्करी भइरहेको सूचनाका आधारमा रोक्नलाई असइ माझी पुगेका थिए। त्यस क्रममा एनसेल टावरनजिकको नरहमा पुगेपछि उनको तस्करीमा संलग्न साहसँग जम्काभेट भएको डीएसपी राईले बताए।

उनका अनुसार साहले ५० लिटर दरका तीनवटा ड्रम (ग्यालेन) मा भरेर डिजेल भारततिर लैजाँदै थिए। डिजेल भरिएका ड्रम को १४ प ७६३ नम्बरको मोटरसाइकलमा राखेर एक सय ५० लिटर डिजेल भारत लैजाँदै गरेको अवस्थामा तस्करी गर्ने गिरोहका नाइके साहलाई तत्काल एक्लै पुगेका असइ माझीले रोक्न खोजेका थिए। असइ माझीसँग भेट भएपछि साहले डिजेल लोड गरेको ड्रमसहितको मोटरसाइकल नहरमा लडाएका थिए। त्यस क्रममा माझीले मोटरसाइकलसहित लडेका साहलाई उठाए। तर लडेको ठाउँबाट उठिसक्न नभ्याइकन उनले एक्कासि आक्रमण सुरु गरेको डीएसपी राईले बताए।
आक्रमणबाट भुइँमा ढलेका माझीलाई थप मद्धतका लागि पुगेको प्रहरी टोलीले तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल लगेको हो। उद्धार गर्दा असइ माझी बोल्न सक्ने अवस्थामा थिएनन् भने अनुहारबाट रगतको धारा बगिरहेको थियो। मोटरसाइकलसहित लडेका साहको पनि खुट्टामा चोट लागेको छ।

मुक्का, ढुंगासमेतले आक्रमण गर्दा असइ माझीको अनुहारका विभिन्न भागमा गहिरो चोट लागेको जानकारी प्रहरीले दिएको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै डीएसपी राईले दिएको जानकारी अनुसार घाइते असइको दुवै आँखामा चोट लागेको छ। नाकको हड्डी भाँचिनुका साथै ओठ पनि काटिएको छ। चिकित्सकले जतिसक्दो चाँडो नाकको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा हत्या नै गर्ने हिसाबले आक्रमण गरेको देखिने राईले बताए। उनका अनुसार चौकीमा कार्यरत अरु प्रहरीलाई पनि तस्करीको डिजेल नियन्त्रणमा लिनलाई फिल्डमा निस्कन निर्देशन दिँदै कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा असइ माझी एक्लै अगाडि बढेका थिए। तर अरु प्रहरी पुग्न नपाउँदै तस्करसँग जम्काभेट भएपछि बिना हतियारका उनी आक्रमणको सिकार बनेका हुन्।

घटनास्थलमा अरु प्रहरी पुग्दा उनीमाथि आक्रमण भइरहेको थियो। थप मद्धतका लागि गएका प्रहरीले आक्रमणमा संलग्न साहलाई नियन्त्रणमा लिँदै गम्भीर घाइते अवस्थामा असइ माझीको उद्धार गरेको हो। प्रहरीले तीनवटा ड्रमसहित तस्करीको एक सय ५० लिटर डिजेल र डिजेल तस्करीमा प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका साहले आफ्नो काममा अवरोधको प्रयास भएपछि आक्रमण गरेको बताएको डीएसपी राईले जनाए। तर आक्रमण गर्दा अँध्यारो रहेका कारण आफूले प्रहरी भनेर नचिनेको साहले बताएका छन्। साह लामो समयदेखि नेपालबाट भारततिर डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थको तस्करीमा संलग्न रहेको खुलेको डीएसपी राईले बताए। साहविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घटनास्थल नेपाल–भारत सीमाक्षेत्रबाट तीन किलोमिटर उत्तरमा पर्छ। प्रहरीले रोक्न नसकेको भए केही समयमै उनले डिजेल भारत कटाउने थिए। झापा घर भएका असइ माझी भने सात महिनदेखि प्रहरी चौकी मझारेमा कार्यरत थिए।

मझारे प्रहरी चौकमा आठ जना प्रहरी कार्यरत छन्। अत्याधिक मात्रामा तस्करी हुने नेपाल–भारत सीमा क्षेत्रमा जनशक्ति कम हुँदा आफूहरु असुरक्षित हुनुपर्ने अवस्था रहेको, जोखिम मोलेर ड्युटी गरिरहेको र बारम्बार तस्करको निसानामा पर्ने गरेको गुनासो एक प्रहरीले गरेका छन्।

यस घटनालाई गत कात्तिक १ गते राति तस्करी रोक्ने क्रममै नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१२ मा भएको घटनासँग जोडेर हेरिएको छ। त्यतिबेला मटर तस्करले आक्रमण गरेर प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेका थिए। मोरङमा पनि धनगढीको झल्को दिने खालको घटना भएको प्रहरी अधिकारीको भनाइ छ।

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रवक्ता दिवश विष्टका अनुसार नेपालमाभन्दा भारतमा डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थको मूल्य धेरै छ। भारतमा महँगो पर्ने भएकाले नेपालबाट तस्करको गिरोहले सुरक्षाकर्मीलाई छलेर लुकाईछिपाई इन्धन तस्करी गरी भारत पुर्‍याउँदै बिक्री गर्ने गरेको विभिन्न घटनाबाट पुष्टि हुने विष्टले बताए। उनका अनुसार प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर ९१ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय आठ रुपैयाँ ५० पैसा तोकिएको छ। नेपालमाभन्दा भारतमा डिजेल प्रति लिटर ३७ रुपैयाँ ६४ पैसा र पेट्रोल ३२ रुपैयाँ २६ पैसा महँगो रहेको जानकारी विष्टले दिए।

‘विशेष गरेर सीमावर्ती क्षेत्रमा सञ्चालित पम्पहरुबाट पेट्रोलियम पदार्थको भारततिर तस्करी भइरहेको पाइन्छ,’ उनले भने, ‘त्यही भएकाले पनि ति पम्पहरुमा नियमित अनुगमन र नियमन गर्ने काम भने जारी राखिएको छ।’ तर पनि तस्करी भने रोकिएको छैन। आयल निगम स्रोतले दिएको जानकारी अनुसार तस्करी रोक्नका लागि निगमले बनाएको नीति नै अव्यवहारिक छ।

‘तस्करी रोक्न सीमाका पम्पहरुमा नियमित अगनुगमन गर्नुपर्ने नीति निगमको छ,’ स्रोतले भन्यो, ‘तर पम्पहरुले मागेजति पेट्रोलियम पदार्थ उपलब्ध गराउनैपर्ने बाध्यता पनि निगमसँग छ।’ पम्पबाट भएको माग बमोजिम इन्धन आपूर्ति नगर्दा उपभोक्ताले नपाउने र माग भएजति दिँदा तस्करी हुने समस्या रहेको स्रोतको भनाइ छ। तस्करी रोक्नका लागि सीमा क्षेत्रका पम्पबाट हुने अत्याधिक मागको कोटा घटाउनुपर्ने र त्यसमा प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर