Aamsanchar

हाम्रो हडपिएको भूमिमा भोग चलन गर्न पाएका छैनौं भन्दासमेत गाली र धम्की सुन्नुपरेको छ : : प्रधानमन्त्री ओली

Author Image
सोमवार, माघ २६, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नुपरेको बताएका छन् । नेपाल-भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौं, हाम्रो हो,’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ ।’

अबका दिनमा सीमाका विषयमा तथ्य प्रमाणसहित वार्तामा जाने बताउँदै प्रधानमन्त्री ओलीले सिमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई भूमि मिचिनबाट रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिए । भूमिको मामिला निकै संवेदनशील भएकाले सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उनले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसँग मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, ‘हाम्रा भू(भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ ।’

सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले सीमा सुरक्षा नभए राष्ट्रको सुरक्षा नहुने बताए ‘राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौं,’ उनले भने ।

नेपालको तराई क्षेत्रका बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रसंग उल्लेख गर्दै उनले भने, ‘रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू(भागको सुरक्षाका लागि जिम्मेवार ढंगबाट पहल गर्नुपर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर