Aamsanchar

‘प्रचण्ड’को निर्वाचन क्षेत्रका ४ वटा सडकको निर्माण अलपत्र

Author Image
मङ्गलवार, माघ २७, २०७७

चितवन –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रका ४ वटा सडक योजनाको निर्माण म्याद सकिएको छ। दुई वर्षअघि प्रचण्डले निकै तामझामसाथ आफ्नो निर्वाचन क्षेत्रका यी सडक शिलान्यास गरेका थिए। देशका पूर्वप्रधानमन्त्री एवम्‌ साविक कम्युनिष्ट पार्टीका अध्यक्षकै निर्वाचन क्षेत्रका योजनाहरू समयमै सम्पन्न नभएपछि स्थानीयहरूले सास्ती भोग्नुपरेको छ। ठेकेदारले भने निर्माण अवधि एक वर्ष थप्न माग गरेको छ।

सघन सहरी विकास कार्यक्रम अन्तर्गतको कालोपत्रे सडक तथा ढल निर्माण कार्य (प्याकेज नं २)का ५ वटा योजनाहरू मध्ये ४ वटा योजनाहरूको काम सम्पन्न नहुँदै म्याद सकिएको हो। प्याकेज नं २ को ३.१०८ किमी शहीदचोक–धर्मचोक–कचपचे सडक, ७ किमी शिवघाट–पकडी सडक, १३ किमी प्रचण्ड मार्ग (महेन्द्रचोक–शुक्रनगर) सडक र २ किमी पुलचोक–रामघाट सडकको म्याद सकिएको हो। नारायणगढ-दियालो रोड (७०० मिटर) को काम भने सकिएको छ।

भ्याट सहित ६८ करोड २३ लाख १५ हजार ८२४ रुपैयाँ लागतमा यी ५ वटा योजना दुई वर्षभित्र सम्पन्न गर्नेगरी रमनरशिवशक्ति जेभी हेटौंडासँग २०७५ असार २६ गते सम्झौता भएको थियो। २०७७ असार मसान्तसम्मभित्र काम सक्नुपर्ने थियो। २०७६ चैतमा नै कोरोना महामारी सुरु भएकाले सरकारले ०७७ पुष मसान्तसम्मको म्याद थपिदिएको थियो। पुष मसान्तसम्म पनि काम नसकिएपछि ठेकेदारले थप एक वर्षको म्याद मागेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर माधव कटुवालले बताए।

‘शहीदचोक–धर्मचोक–कचपचे सडकको शहीदचोकदेखि लंकु पुलसम्म ९६० मिटर कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘बाक्लो बस्ती भएकाले साना–तिना विवाद आइरहने भएकाले केही ढिला भएको हो। लंकुदेखि कचपचेसम्म अब २० मिटर मात्रै नाली बनाउन बाँकी छ।’ अबको तीन महिनाभित्र यो सडकको काम सकिने उनले बताए। यो सडकको कूल चौडाइ १६ मिटरको हुने छ।

‘सडकका खाल्डा फिलिङ गर्न ग्राभेल पनि पाइएको छैन। ग्राभेलको ढुवानीमा समस्या छ,’ उनले भने, ‘दुई महिनादेखि हामीले ग्राभेल कुरेर बसेका छौँ।’ प्रचण्ड मार्गको ६ किमीमा कालोपत्रे हुन बाँकी रहेको कटुवालले बताए। नारायणी किनारमा पर्ने पुलचोक–रामघाट सडकमा पनि समस्या रहेको उनले बताए। नारायणी तर्फको भागमा तटबन्ध गर्नुपर्ने भएकाले ग्याबिन जाली लगाउने काम भइरहेको उनको भनाइ छ।

सडक क्षेत्रमा परेका साना प्रकृतिका करिब २० वटा रुखहरू काट्न समस्या परेको र लागत इस्टिमेट तयार गरेर काठमाडौँ पेश गरेको ६ महिना भइसक्दा पनि कुनै निर्णय नभएको उनले बताए। शिवघाट–पकडी सडकमा कालोपत्रे हुन ३ किमी बाँकी छ। ५ वटा सडकको कूल लम्बाई करिब २६ किलोमिटर रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर