Aamsanchar

विराटनगर महानगरका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने

Author Image
मङ्गलवार, माघ २७, २०७७

विराटनगर- विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ। कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा नम्बर २ र ५ लाई जोड्नेगरी बरगाछी चोकमा तथा महावीर चोक ९घाँस चोक० र गुद्री बजारलाई जोड्ने गरी बजार क्षेत्रमा आकाशे पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए। महानगरपालिकाले आकाशे पुल निर्माणका लागि गत वर्ष नै प्रक्रिया सुरु गरे पनि प्राविधिक कठिनाइले ढिलाइ भएको थियो।

‘आर्थिक तथा प्राविधिक मूल्यांकन प्रक्रिया सम्पन्न गरेर पुल निर्माणको आशयसहितको सात दिनको सूचना प्रकाशन गरेका थियौं,’ थापाले भने, ‘अहिले सात दिनको सूचना कटेर टेन्डर प्राप्त भएका निर्माण कम्पनिलाई सम्झौताका लागि हामीले चिठ्ठी पठाइसकेका छौं।’ रानी–इटहरी–धरान ६ लेन सडकअन्तर्गत पर्ने चोकहरुमा अधिक भिडभाड हुने गरेकाले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाइएका थापाले बताए। सडक चौडा भएपछि सर्वसाधारणलाई बाटो काट्न सास्ती भएको र ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा दुर्घटनाको जोखिम पनि उच्च भएकाले आकाशे पुल निर्माण गरिएको महानगरले बताएको छ।

पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित आकाशे पुल निर्माण हुने र अन्यत्र सार्नुपर्दा वा हटाउनु पर्दा पनि पुनः प्रयोगमा ल्याउने गरी पुलको डिजाइन भएको इन्जिनियर थापाले जानकारी दिए। इँटा र सिमेन्टको प्रयोग गर्दा खर्च बढी हुने र पुनः प्रयोग गर्न नसकिने भएकाले स्टिल स्ट्रक्चरमा निर्माण गर्ने महानगरको योजना छ।

पुल निर्माणकालागि कला विल्डर्स र आरके विल्डर्स कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। पुल निर्माणका लागि महानगरपालिकाले २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीनवटै आकाशे पुल २५ मिटर लम्बाइका हुनेछन्। ३० मिटर चौडा सडकमा दुवैतर्फ ५÷५ मिटर फुटपाथ छोडेर आकाशे पुल बन्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर