Aamsanchar

मोरङको पूर्वी नाकाबाट गोरुको तस्करी, तीन ट्रकसहित ६७ गोरु नियन्त्रणमा

Author Image
मङ्गलवार, माघ २७, २०७७

मोरङ – मोरङको पूर्वी नाकाबाट गोरुको तस्करी हुने गरेको फेला परेको छ । प्रहरीको टोलीले केराबारीबाट गोरु तस्करी भइरहेको सूचनाको आधारमा ६७ गोरुसहित तस्करीमा संलग्न व्यक्तिलाई फक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका ५ सतिसालेमा गोरु लोड गरेको अवस्थामा तीन ट्रकसहित गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक(डीएसपी) लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा ६७ गोरु फेला पारेको हो । अनुसन्धानका क्रममा ती गोरु सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतको भएको डीएसपी थापाले जानकारी दिनुभयो । गोरु तस्करीमा संलग्न बस्नेत गोरु कारोबारी भएको प्रहरीले जनाएको छ ।

बस्नेतले गोरु व्यवसाय गर्नका लागि केराबारी गाउँपालिका ८ का डोरबहादुर विकसहित नौ जनाको व्यवसाय गर्दाको रकमसमेत नदिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीले ट्रक, चालक र गोरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको डीएसपी थापाले बताउनुभयो ।

तस्करहरूले गोरुको ओसारपसारका लागि छोटी भन्सारको प्रयोग गर्ने गरेका छन् । यसअघि रङ्गेली तथा भाथिगछलगायतका नाका प्रयोग गरेर गोरु भारत तस्करी हुने गरेको स्थानीयले बताउँदै आएका थिए । रातिको समयमा नेपालबाट भारततर्फ ठूलो सङ्ख्यामा गाई तथा गोरुको तस्करी हुने गरेको छ ।

तस्करहरूले नेपालबाट झापा र मोरङको नाका प्रयोग गरेर भारत हुँदै बङ्गलादेशसम्म गोरुको तस्करी गर्ने गरेको यसअघि नै तथ्य खुलेको थियो । यस पटक पक्राउ परेका गोरु पनि पश्चिमका जिल्लाबाट ल्याएर झापा हुँदै तस्करी गर्न ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर