विर्तामोड । झापाको विर्तामोडमा एक घरबार बिहिन परिवारलाई विर्तामोड नगरपालिकाले घर प्रदान गरेको छ ।
विर्तामोड नगरपालिका स्थित गरामनीमा रहदै आएका टंकप्रसाद चौधरीको परिवारलाई घर हस्तान्तरण गरिएको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।
सरस्वती पुजाको अवसरमा नगरपालिकाले निर्माण गरिदिएको घर हस्तान्तरण पछि चौधरी परिवारलाई प्रवेश समेत गराइएको छ ।
साविक गरामनी–८ का चौधरी हालसम्म घरबार विहीन थिए । उनलाई घर निर्माणका लागि विर्तामोड नगरपालिकाले पहल गरेपछि बिर्तामोड–४ का विदुर तिवारीले जग्गा उपलब्ध गराएका थिए । उनै तिवारीले उपलब्ध गराएको जग्गामा बिर्तामोड नगरपालिकाले घर निर्माण गरेर प्रवेश समेत गराएको हो ।
चौधरीका लागि सुरक्षित आवास निर्माण गर्न नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले नेतृत्व गरेका थिए । नगर प्रमुख शिवाकोटी र उपप्रमुख पवित्रा महतराले चौधरीलाई मंगलवार गृह प्रवेश गराएका थिए ।
वर्षौदेखि भाडामा बस्दै आएको चौधरीको परिवारलाई घरसहित ओढ्ने ओच्छ्याउने कपडा, ग्यास चुलो, २ वटा खाट उपलब्ध गराइएको छ । साढे पाँच लाख लागतमा घर निर्माण सम्पन्न गरिएको योजना शाखा प्रमुख जय तिम्सिनाले बताए ।
परिवर्तको लागि राजनीति आन्दोलनका क्रममा झापा विद्रोहका योद्धा बनेर न्याय र समानताको लागि तत्कालिन शासकको विरुद्धमा आवाज उठाउँदा चौधरीलाई धरपकड गरी ९ वर्ष ३ महिना जेल हालिएको थियो ।