Aamsanchar

प्रवीण बास्तोला हत्यामा सङ्लग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई तीन लाख धरौटीमा छाड्ने आदेश

Author Image
बिहिवार, फागुन १३, २०७७

मोरङ । जिल्ला अदालत मोरङले उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा सङ्लग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । अर्का एकजनालाई भने तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । प्रहरीले हत्या आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गरेका मध्ये चारजना फरार छन् । पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

न्यायाधीश सुदर्शन लाछिमानेको इजलासले कर्तव्य ज्यान मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि बिहीबार आदेश दिएको हो ।

प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको न्याय नपाएको तथा मृतकको मिसिलमा अर्कैको व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए ।

प्रहरीविरुद्ध आन्दोलन सुरु भएपछि निक्कै चर्चामा रहेको यो घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये दुई जना पक्राउ परे भने चार जना फरार छन् ।

मुद्दामा प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी फरार छन् ।

प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा चारजनालाई छाडिदिएको थियो । आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर