Aamsanchar

भारत लैजान लागेको ३ सय ५० कार्टुन मदिरासहित एक जना मोरङबाट पक्राउ

Author Image
सोमवार, चैत २, २०७७

विराटनगर –तस्करी गरेर भारत लैजान लागेको अवस्थामा मोरङको जहदा गाउँपालिका–१ स्थित लङ्का टोलबाट सोमबार बिहान तीन सय ५० कार्टुन मदिरासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मटियारीका ३२ वर्षीय शिवलाल राय रहेका छन्। नेपालमा उत्पादन हुने ‘सिलप्याक’ मदिरा अवैध रुपमा भारत लैजान लागेको पाइएपछि पक्राउ गरेर रायमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार तस्करी गरेर नेपालबाट भारततिर लैजान लागेको अवस्थामा महँगो मूल्य पर्ने ठूलो परिणामको मदिरा बरामद गर्दै तस्करीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले ‘हार्ड तथा सफ्ट ड्रिङ्स’का रुपमा सेवन गरिने महँगो मूल्य पर्ने मदिरा बरामद गरेको छ। सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओके लगायतका चर्चित ब्राण्डका मदिरा बरामद भएको डीएसपी राईले बताए। उनका अनुसार बरामद भएको विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा सात लाख मूल्य बराबरको छ।

भारतको बिहारमा मदिरा उत्पादन, बेचबिखन र सेवनमा प्रतिबन्ध छ। प्रतिबन्ध लगाइएसँगै नेपालबाट अवैध रुपमा ‘ब्राण्डेड’ मदिरा तस्करी गरेर बिहारतिर पुर्‍याएर बिक्री गर्ने गरिएको पुष्टि भएको प्रहरीको भनाइ छ। नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै चोर बाटोको प्रयोग गरेर नेपालबाट अवैध रुपमा तस्करी गरी मदिरा भारत लग्ने गरिएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले पनि नेपालबाट मदिराको तस्करी भइरहेको भन्दै नियन्त्रणमा लिन र तस्करी रोक्न नेपाली सुरक्षाकर्मीलाई आग्रह गरिरहेका छन्।

विशेष सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा छापा हान्न जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष टोली बिहान १स्३० बजेतिर पुगेको थियो। प्रहरी आएको थाहा पाएपछि फरार बनेका यादवको भने खोजी भइरहेको डीएसपी राईले जानकारी दिए। पक्राउ परेका रायले यादवसँग मिलेर लामो समयदेखि भारततिर मदिरा तस्करी गरिरहेको खुलेको उनको भनाइ छ।

प्रहरीले मदिरा तस्करीमा प्रयोग गरिँदै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। मदिरा बरामद भएको स्थानमा भारतीय कार र मोटरसाइकल पनि फेला परेपछि सवारी साधनको प्रयोग गर्दै भारततिर मदिरा अवैध रुपमा लैजाने गरिएको पुष्टि भएको डीएसपी राईले बताए। यादवको घरबाट नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने भएको छ।

यादवले मदिरा बेचबिखनका लागि कुनै पनि अनुमति लिएको नपाइएको प्रहरीले जनाएको छ। बिना इजाजत ठूलो परिणाममा ब्राण्डेड मदिरा खरिद गरेर उनले तस्करीमार्फत भारत कटाउने गरेको डीएसपी राईले बताए।

सीमा क्षेत्रबाट नेपाली मदिरा तस्करी गरेर भारत कटाउने गरेको पाइएपछि नियन्त्रण गर्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विशेष टोली परिचालन गरेका छन्। मदिरा तस्करी रोक्न विशेष अभियान चलाउँदै सीमा क्षेत्रमा २४ घण्टा नै विशेष टोली परिचालन गरेर कडाई गरिएको उनले बताए। पछिल्लो समय जल्दोबल्दो समस्याका रुपमा देखा परेको मदिरा तस्करी नियन्त्रण गर्न एसपी खड्का आफैँ खटिएका छन्।

फिल्डमा आफै खटिँदै आएका उनले मदिरा लगायत अन्य वस्तुको तस्करीलाई पूर्ण रुपमा नियन्त्रणमा लिन नेपाल–भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर कडाई गरिएको बताए। त्यसका लागि सबै स्थानमा सुरक्षा सतर्कता बढाइएको जानकारी एसपी खड्काले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर