काठमाडौं। थोरै यस्ता विषय हुन्छन् जसमा सबै उमेर समूहका मानिसहरुको चासो हुन्छ। अहिले बच्चादेखि वृद्धसम्म मेलम्चीको पानीको विषयमा जानकार छन्। केही महिनाअघिसम्म कसैले मेलम्ची आउँदै छ भन्दा मानिसहरु गफै त हो भनेर उडाउँने गर्दथे। मेलम्चीको पानी काठमाडौं आएपछि भने पत्याउन नसक्ने तिनै मानिसहरु पानी धारामा आउने दिन गन्दै बसेका छन्।
मेलम्चीले पानीको काकाकुल भोगिरहेका काठमाडौंवासीमात्रै होइन सिंगो देशलाई हर्षित बनाइरहेको छ। बहुप्रतिक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो। काठमाडौं पुगेको २४ दिनपछि अर्थात चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा पुग्दै छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थोरै परिमाणमा भएपनि दैनिक रुपमा पानी वितरण गर्नेगरी काम भइरहेको बताएको छ। केयूकेएलका प्रवक्ता प्रकाश राईले चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा आउने जानकारी दिए।