चितवन- नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत दासढुंगामा आज अपराह्न साढे ४ बजे ट्रक र कार आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार आपसमा ठोक्किएका थिए।
घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याइएको र दुई जनाको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए। मृत्यु हुनेमा तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल छन्।
गम्भीर घाइते कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा हुन्। स्याङजा विरुवा गाउँपालिका–३ बस्ने ४२ वर्षीय प्रसाद थापा र तनहुँ व्यास नगरपालिका वडा नं ६ बस्ने ४० वर्षीय जसमान परियारको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।