Aamsanchar

अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालनमा

Author Image
मङ्गलवार, जेठ ११, २०७३

बिर्तामोड ।

index

झापामा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र पत्रकार महासंघ झापाको संयुक्त अनुगमन टोलीको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
सरकारले स्वास्थ्य नीति २०७१ को कार्यान्वयनका क्रममा एम्बुलेन्सका नाममा हुने विकृति–विसङ्गति रोक्न अलग्गै निर्देशिका ल्याए पनि सो निर्देशिकालाई लत्याउँदै एम्बुलेन्स सञ्चालकहरुले जिल्लामा मापदण्डविपरीत एम्बुलेन्स सञ्चालन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका नायव सुब्बा रमेश खतिवडाले बताए ।
मापदण्डविपरीत जिल्लामा एम्बुलेन्स सञ्चालनमा रहेको जनगुनासो बढेपछि सोमबार एम्बुलेन्सको अनुगमन गरिएको थियो । सो क्रममा टोलीले पाँचथरको रविमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालनमा ल्याएको को.१.झ.५२१ नम्बरको एम्बुलेन्सले औषधि ओसार–पसार गरेको भन्दै सो एम्बुलेन्सको कागजात नियन्त्रणमा लिएको छ । दमकबाट पाँचथरको रवितर्फ जाँदै गरेको अवस्थामा टोलीले एम्बुलेन्सलाई चेकजाँच गर्दा त्रुटी भेटिएपछि कागजात नियन्त्रणमा लिएको हो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल इलामले सञ्चालनमा ल्याएको मे.१.झ.८४ नम्बरको एम्बुलेन्स चालकले सवारी चालक अनुमतिपत्र बिनै एम्बुलेन्स चलाएको गरेको फेला पारेको थियो । उक्त एम्बुलेन्सको समेत अनुगमन टोलीले ब्लुबुक नियन्त्रणमा लिएको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको मे.१.च.५५२ नम्बरको एम्बुलेन्स चालकको एम्बुलेन्स कुदाउने योग्यता नपुगेको भन्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक नियन्त्रणमा लिएको छ । त्यस्तै टोलीले अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा सञ्चालित मे.१.च.११०० नम्बरको एम्बुलेन्सको साइरन नबज्ने र अस्पताल रुँगेर बसेको भन्दै उक्त एम्बुलेन्सको समेत ब्लुबुक र एम्बलुेन्सका चालकको सवारी चालक अनुमति पत्र नियन्त्रणमा लिएको छ ।
यसैगरी मैनाली एकता समाजले सञ्चालनमा ल्याएको धनचन्द्र स्मृति एम्बुलेन्स सेवाको मे.१.च.१२४९ नम्बरको एम्बुलेन्स चालकको एम्बुलेन्स चलाउने योग्यता नपुगेको भन्दै लाइसेन्स नियन्त्रणमा लिइएको छ । एम्बुलेन्स कुदाउन सवारी चालक अनुमति पत्र लिएको ५ वर्ष अवधि पूरा भएपछि मात्र एम्बुलेन्स कुदाउन पाइने प्रावधान रहेको जनाइएको छ । मैनाली एकता समाजले सञ्चालनमा ल्याएको सो एम्बुलेन्सका चालकले एम्बुलेन्स कुदाउँदा धुमपान गर्ने गरेको पाइएपछि उक्त एम्बुलेन्सलाई समेत कारवाही गरेको छ । एम्बुलेन्समा चुरोट भेटिएपछि अनुगमन टोलीले एम्बुलेन्सको कागजपत्र नियन्त्रणमा लिँदै कारवाहीका लागि सिफारिस गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।
बिर्तामोडसहित सुरुङ्गा, झिलझिले र दमकमा गरिएको अनुगमनका क्रममा १४ वटा एम्बुलेन्सको कागजात जाँच गरिएको थियो । सो क्रममा आठवटा एम्बुलेन्समा त्रुटी भेटिएपछि ती एम्बुलेन्सलाई कारवाहीको सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा गुरुप्रसाद भट्टराईले बताए ।
अनुगमन टोलीले ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयद्वारा सञ्चालित मे.१.च.१६५४ नम्बरको एम्बुलेन्स पनि मापदण्ड विपरीत चलेको भन्दै कारवाहीको लागि सिफारिस गरेको छ । यसैगरी लायन्स क्लव अफ बिर्तामोडद्वारा सञ्चालित मे.१.च.१७७ नम्बरको एम्बुलेन्सले म्याद गुज्रिएको औषधि बोकेर हिँडेको भन्दै कारवाहीका लागि सिफारिस गरेको छ ।
दमक नगरपालिकाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्र दमक–५ आमचोकको मे.१.झ.१०८ नम्बरको एम्बुलेन्सको ब्याक लाइट नबलेपछि कारवाहीका लागि सिफारिस गरेको छ । त्यस्तै डिल्लीप्रसाद सुवेदी स्मृति प्रतिष्ठान दमकबाट सञ्चालित मे.१.च.२०४८ नम्बरको एम्बुलेन्सको पनि टायर रिसोलिङ गरेर चलाएको भन्दै उक्त एम्बुलेन्सलाई पनि कारवाहीको सिफारिस गरेको छ ।
त्यस्तै भोटु स्मृति प्रतिष्ठान दमकद्वारा सञ्चालित मे.१.च.१७३३ नम्बरको एम्बुलेन्स नवीकरण नगरेको पाइएपछि उक्त एम्बुलेन्सलाई समेत कारवाहीको लागि सिफारिस गरेको छ । अनुगमनका क्रममा दाहाल बन्धु स्मृति प्रतिष्ठानको मे.१.च.१३३३ नम्बरको एम्बुलेन्स, पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलको मे.१.च.३४८९ र ओम नम शिवाय बचत तथा ऋण सहकारी संस्था बुधबारेको मे.१.च.१२५४ नम्बरको एम्बुलेन्स प्रक्रिया पु¥याएर चलाएको पाइएको अनुगमन टोलीका सदस्य रामकुमार यादवले जानकारी दिए ।
यसैबीच जिल्लामा १ सय २३ वटा एम्बुलेन्स राजस्व छुटमा ल्याएर सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । अनुगमनमा यातायात व्यवस्था कार्यालय मेचीका खरदार रमेश गुरागाईं, जिल्ला प्रशासन कार्यालय झापाका गुरुप्रसाद भट्टराई, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका नायव सुब्बा गणेश खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्का, नेपाल पत्रकार महासंघ झापाका सदस्य सुरेन्द्र भण्डारी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर