महाशिवरात्री र होलीको बीच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैं विशेष महत्व छ ।
आमलकी अर्थात् अमला, आउनुहोस् त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फलको चर्चाबाटै आजको शब्दमाला प्रारम्भ गरौं ।
राजा मन्धाता र वशिष्ठ मुनीको संवादमा पनि यो एकादशीको वर्णन सुन्न पाइन्छ । वशिष्ठ मुनीको प्रेरणाबाट अनि जानकारीबाट आमलकी एकादशीको महत्व चाल पाएर राजा मन्धाताले निरन्तर रुपमा यो एकादशीको व्रत लिन थालेको पाइन्छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमा झैं देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात् अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो ।
त्यही बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा स्वीकार गरियो । यही कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी औषधीका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफलामध्येको एक महत्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरीरका धेरै विकारहरु नाश हुने भनाई छ ।
जसरी भगवानमा बिष्णु पुजनीय छन्, त्यसैगरी फलहरुमा अमला पवित्र र पुजनीय मानिएको छ । बिष्णुले जब सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास छ । यो एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् बिष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ ।
भगवान् बिष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ ।
एकादशी महात्मय अनुसार, एक नगरका सबै बासिन्दाहरु भगवान् बिष्णुका भक्त थिए । उनीहरु सबैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एकपटक आमलकी एकादशीकै दिनमा सबै जना व्रत बसी मन्दिरमा जाग्राममा थिए । रातिको समय भएकाले एउटा धेरै हिंस्रक र असहिंष्णु भोको शिकारी पनि शिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । शिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो, तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो, तर सकेन ।
उसले भोजनकै लागि भए पनि त्यो रात बिष्णुका भक्तहरुसँगै जागै बस्ने निर्णय गर्यो । भोलिपल्ट बिहान भएपछि शिकारीसहित सबै भक्तजनहरु आ–आफ्नो घर फर्किए । समय बित्दै जाँदा शिकारीको अचानक मृत्यु भयो । तर शिकारीले नजानीकनै भए पनि आमलकी एकादशीको ब्रत गरेको थियो । त्यही भएर मरे पनि सबै पापहरु नास भई उक्त शिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुर्नजन्म एउटा राजकीय खानदानमा भयो ।
त्यस जन्ममा उक्त शिकारीको नाम राजा चित्रसेन रहन गयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रुपमा देखापर्यो । दान धर्मादी कार्यमा उसको तीव्र रुचि देखियो । समय बित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले शिकार खेल्न गयो, तर उ डाँकाहरुको चंगुलमा पर्यो ।
हातहतियारसहितका डाँकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाँकाहरुले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केही चोट पुर्याउन सकेन । अझ शस्त्रहरु प्रहार गर्न थाले, तर डाँकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरेपछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाँकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यहीबेला एक अलौकिक शक्ति प्रकट भयो । उक्त शक्तिका कारण सबै डाकाको मृत्यु भयो । उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो रु
जवाफ मिल्यो, पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तिम्रो रक्षा भगवान् बिष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो सुनेर उ सारै बिष्णु भगवान्प्रति झन् धेरै कृतज्ञ बन्यो । सदा लागि बिष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा छ । पछि आएर राजा चित्रसेनले आफ्ना समस्त प्रजाहरुलाई आमलकी एकादशीको कथा बताए । हजारौं वर्षदेखि सुन्दै सुनाँउदै आएको आमलकी एकादशीको यो व्रतकथासँगै आजका लागि शव्दमालालाई यहीँ बिसर्जन गर्दछु ।