Aamsanchar

उधारोमै पढाउँछन् शिक्षक

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

पाल्पा ।

school banda

जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् ।

जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का एक सय ७० घरपरिवारले मासिक दुईसय ५० रुपैयाँ उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर मावि सञ्चालन गर्दै आएका छन् ।

कक्षा १० सम्म पढ्न यहाँका बालबालिका दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता भएपछि स्थानीयले तीन वर्षअघि गाउँकै विद्यालयलाई मावि तहको पढाइ सञ्चालन गरेपछि स्थानीयले शिक्षकलाई तलब खुवाउने समस्या थपिएको हो ।

मावि सञ्चालन भएपछि बालबालिकाले नजिकै पढ्न पाउने भएर खुसी बने पनि आर्थिकरुपमा कमजोर रहेका अभिभावकलाई प्रत्येक महिना पैसा उठाउन सास्ती भएको छ । अन्नबाली र पशुपक्षी पालन गरी बेचबिखनबाट केही आम्दानी हात परेपनि नुनतेलका लागि जोहो गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ ।

मावि तहको विद्यालय सञ्चालन गर्न थाले पनि यहाँका स्थानीयले मासिक दुईसय ५० रुपैयाँ नियमित उठाउन थालेको जुठापौवा गाविस–६ का स्थानीय बासिन्दा लिलाबहादुर रास्कोटीले बताए । वडावासीले पैसा सङ्कलनबाट सञ्चालित विद्यालयको एसएलसीको नतिजा भने जुठापौवा स्रोत केन्द्रमा नै नमुना रहेको विद्यालयको दाबी छ ।

गाउँका साना बालबालिका जङ्गलको बाटो दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जाँदा समस्या हुन थालेपछि गाउँले पैसा उठाएर विद्यालय सञ्चालन गरे पनि अहिले नियमित रुपमा पैसा उठाउन समस्या देखिएको हो ।

प्रत्येक महिनामा विद्यालयमा वडावासी आएर पैसा उठाउँछन् । पहिला पहिला गाउँमा नै कक्षा १० सञ्चालन गर्नुपर्छ भन्दै नियमितरुपमा पैसा उठाउने गरेपनि पछिल्ला वर्षमा स्थानीयले नियमितरुपमा पैसा उठाउन समस्या भएको स्थानीय बासिन्दा तथा शिक्षक चिन्तामणि रास्कोटी बताउँछन् । ‘पहिले झैँ पैसा उठ्न छोडेको छ, पछिल्ला महिनामा गाउँलेबाट उठ्ने पैसा रु १५ हजार देखि २० हजार मात्र हो,’ शिक्षक रास्कोटीले भने ।

मगर र दलित समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा अहिले दुई सय ५० भन्दा बढीले पढ्दै आएका छन् । विद्यालयमा प्राविमा पाँच जना दरबन्दी, दुई जना राहत, एक जना ‘पिसीएफ’का शिक्षक रहेका छन् । आधारभूत तहमा पाँचजना र माविमा तहमा एकजना गरी ६ जना शिक्षकलाई दुई वडाबाट घरधुरी अनुसार प्रत्येक महिना पैसा उठाएर तलब खुवाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक महेश पोखरेलले बताए ।

प्राविमा मात्र दरबन्दी रहेकाले निमावि र माविका शिक्षकलाई वडावासीले पैसा उठाई तलब खुवाउन समस्या हुँदै आएको हो । मावि सञ्चालन गर्न एकजना शिक्षक अभाव रहेपनि उनलाई रु १७ हजार ५०० तलब समेत वडावासीले तोकिदिएका छन् । निमाविमा पढाउने शिक्षकले रु सात र आठ हजार तलबमा काम गर्दै आएका छन् ।

‘सरकारले तोकेको भन्दा न्यून तलबमा काम गर्ने यहाँका शिक्षकले महिना बितेपछि तलब पाउँदैनन्, तलबका लागि वर्षदिन पनि कुर्नुुपर्छ,’ प्रअ पोखरेलले भने, ‘उधारोमा समेत शिक्षक पढाउन बाध्य भएका छन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर