भारतमा कोरोनाको दोस्रो छाल यति खतरनाक भएको छ कि हरेक दिन औसत डेढ लाख भन्दा बढी केसहरू आउँदैछन्। भारतभर ज्यान गुमाउनेको संख्या दैनिक १ हजार माथि उकालो लागेको छ। बिरामीहरू अस्पतालमा उपचारका पालो पर्खेर बस्न थालेका छन्। मृतकका परिवारका सदस्यहरूले दाहसंस्कारका लागि लाइन नै बस्न थालेका छन्।
यस्तो अवस्थामा बिबिसी हिन्दीले भारतको सबैभन्दा बढी कोरोना संक्रमित राज्यको दाहसंस्कारमा काम गरिरहेका कर्मचारीहरू र दाहसंस्कारका लागि कुर्ने परिवारसँग कुरा गरेको थियो र अवस्था कस्तो छ भनेर बुझ्ने प्रयास गरेको उल्लेख गरेको छ।
एक आर्यघाटमा दिनमा ५० देखि ६० जनासम्मको दाहसंस्कार
आज बुधबार अपराह्न एक बजेर १० मिनेट जाँदा (भारतीय समयअनुसार) एकै दिन २२ वटा लासहरू जलाइएको थियो। हरेक दिन ५० देखि ६० जनाका शरीरहरू जलाउनुपर्ने आर्यघाटमा खटिएका कर्मचारीले बताउने गरेका छन्।
शव जलाउन खटिएका एक कर्मचारी वरुण जनगम भन्छन्, ‘कसैको शरीर जलाउन समय लिनुपर्यो भने एकछिन समय लिनुपर्छ। छ वटा फ्रिजहरू छन्, चाँडै शव ल्याइयो भने उनीहरूले फ्रिजमा ठाउँ पाउँछन्, मानिसहरू मृत शरीरको साथ बाहिर उभिन्छन्।’
पुणेस्थित सरकारी शवदाह गृहमा कार्यरत ती कर्मचारीले हतार हतार फोन सम्पर्कमा भने, ‘छोटो समयमा तपाईले धेरै कुरा गर्न चाहनुभयो, हामी फ्री भयौ भने भन्छौं।’
उनको यो भनाइबाट के अनुमान लगाउन सकिन्छ भने भारतभरका शवदाह गृहमा करिबकरिब यस्तै हालत छ। जो हर मिनेट कोरोना संक्रमित शव जलाउन फुर्सद पाइरहेका छैनन्।
महाराष्ट्रमा मात्रै हिजो मंगलबार ६० हजार २ सय १२ जना संक्रमित भएका थिए। जसमध्ये २ सय ८१ जनाको मृत्यु भएको थियो।
महाराष्ट्र, दिल्ली, गुजरात, युपी, मध्य प्रदेश, तमिलनाडु केरला र कर्नाटक राज्यमा कोरोना तीव्र गतिमा फैलिरहेको छ। देशभरका करिब ८० प्रतिशत संक्रमित यिनै राज्यमा भएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये पनि महाराष्ट्रमा नराम्रोसँग कोरोना फैलिरहेको छ। यहाँ १ मेसम्म सरकारले निकै क्षेत्रमा प्रतिबन्ध लगाएको छ।
वरुण भन्छन्, ‘मेरो काम गर्ने समय ८ घण्टा हो, तर कोरोना संक्रमित शव यति आएका छन् कि मैले ओभरटाइम गरिरहेको छु।’
बिनापिपिई संक्रमितको शव जलाइरहेका छन् कर्मचारी
तर गुजरातको राजकोटमा कोविड १९ को शवका लागि आधिकारिक श्मशान घाटमा काम गर्ने दिनेश भाइ र धीरू भाइले पिपिइ किट वा पञ्जाबिना संक्रमणबाट मरेका मानिसहरूलाई जलाइरहेका छन्।
उनीहरूका अनुसार पहिले १२ वटा शव आए पनि अहिले दैनिक २५ भन्दा माथि संक्रमितको शव आउने गरेका छन्।
दिनेश भाइ र धीरू भाइ कोरोनाबाट मरेकाहरूको शव त जलाउँछन्। तर उनीहरूलाई कुनै प्रकारको पिपिइ किट दिइएको छैन। कहिलेकाहीँ एम्बुलेन्सको साथ आएका अस्पतालका व्यक्तिले उनीहरूलाई पन्जा भने दिने गरेका उनीहरूले बताए। नत्र उनीहरूसँग स्वास्थ्य सुरक्षाका कुनै पोसाक वा साधन छैन। उक्त ठाउँमा संक्रमितको शव जलाउने काममा २४ सै घण्टा काम भइरहेको छ।
१२ घण्टासम्म शव जलाउन पालो कुर्छन् आफन्त
दाह संस्कारमा कामदारहरू त्यहाँको अवस्था देखेर हैरान हुन थालेका छन्। महामारीमा आफ्ना प्रियजन गुमाउँदाको पीडा त छँदै छ त्योभन्दा बढी पीडा शव जलाउन पर्खनुपर्ने र त्यहाँको शोकले आफन्तहरू झन् बढी पीडामा पर्न थालेका छन्। एउटा शव जलाउन १२ घण्टासम्म आफन्तहरूले पर्खिनुपर्ने अवस्था आउन थालेको छ।