काठमाण्डौ ।
यतिबेला देश निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमय बनेको छ । चिया पसल, सरकारी तथा नीजि कार्यालय होस् या अन्य कुनै सार्वजनिक स्थल लोकमानको चर्चा नसुनिने ठाउँ कमै होला । शक्तिशाली संवैधानिक आयोगको प्रमुखका रुपमा रहेका लोकमानको विषयमा भएका यी चर्चालाई स्वभाविक मान्न सकिन्छ । तर, यसै सन्दर्भमा प्रमुख राजनीतिक पार्टीबीच देखिएको असमझदारीले विगत देखि चल्दै आएको नेपालको राजनीतिक परिपाटीमा कुनै परिवर्तन आएको छैन भन्ने प्रष्ट झल्काएको छ ।
कांग्रेसको लाइन
लोकमानको विषयमा कांग्रेसको लाइन स्पष्ट छैन । उसका केही केन्द्रीय तहका नेताबाहेक माथिल्लो तहका नेता लोकमानलाई जसरी भएपनि बचाउन चाहन्छन् । यदि बचाउन नसकिएमा उनको सम्मानजनक महिर्गमन उनीहरुको लाइन हो । लोकमानले आफूलाई महाअभियोगबाट जोगाउन प्रयोग गरेको विभिन्न संयन्त्रले यतिबेला कांग्रेसमा थिचोमिचो पारेको छ । विशेषगरी नेपालका लागि भारतीय राजदूत रञ्जित रायको दबाबमा भारतपरस्त मानिने केही कांग्रेस नेताहरु लोकमानलाई महाअभियोग लगाउन नहुने पक्षमा छन् ।
भारत, केही कुटनीतिक समुदाय र एक हुल नागरिक अग्ुवाको दबाबमा देशको सबैभन्दा ठूलो दल कांग्रेसलाई लोकमान प्रकरणमा निस्क्रिय रहन दबाब आइरहेको छ । यस्तोमा पार्टी सभापति शेरबहादुर देउवाले आफू सभापति हुँदा भारतले लगाएको गुन तिर्न भएपनि हुन्छ र हवस् गर्दै बसेको पार्टीकै केही नेताहरु बताउँछन् ।
देउवाकै विश्वास पात्र र भारतसँग राम्रो साँठगाँठ भएका अर्का कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिसमेत महाअभियोगको विपक्षमा छन् । भारतले लोकमानलाई महाअभियोग लगाउने सन्दर्भमा कांग्रेस विपक्षमा अभिए वा मौन रहे लोकमानलाई राजीनामा दिन लगाउने आश्वासन दिए अनुरुप निधिले देउवालाई कन्भीन्स गर्न खोजिरहेका छन् ।
उता लोकमानलाई महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा अर्का नेता गगन थापा रहेता पनि उनलाई खुलेरै समर्थन गर्ने उच्च तहका नेता नभएका कारण उनको बोली सुनिदिने कोही छैन । उनी जस्तै केही केन्द्रीय सदस्य महाअभियोगको पक्षमा उभिएता पनि रामचन्द्र पौडेल पक्ष मौन रहेको अवस्थामा पार्टीलाई दबाब दिन त्यतिमात्र पर्याप्त छैन ।
यस्तोमा सत्ता साझेदार माओवादी केन्द्रको अन्तिम निर्णयमा कांग्रेस चल्नुपर्ने बाध्यतासमेत उसँग छ । माओवादी पछि सत्ताको साँचो कांग्रेसको हातमा पर्ने हुँदा माओवादी एकमत भएर महाअभियोगको पक्षमा उभिएको खण्डमा कांग्रेस बाहिर बस्न सक्दैन । किन कि कांग्रेसलाई राम्रोसँग थाहा छ यही गल्तीका कारण महाअभियोग प्रस्ताव फेल हुनक्छि र माओवादी कांग्रेससँग रुष्ट भएर एमालेतिर लाग्न सक्छ । त्यसैले पनि कांग्रेसको बुझाइमा महाअभियोग प्रस्ताव ल्याउनुमा एमालेको सत्ता समिकरण खलबलाउने रणनीति छ र यसलाई फेल गराउने मध्यमार्गी उपाय भनेको लोकमानको राजीनामा हो । जसबाट सर्प पनि मर्ने र लाठी पनि नभाचिने भएका कारण कांग्रेस यस विषयमा भारतले नै पहल कदमी चालोस् भन्ने चाहन्छ ।काठमाण्डौ टुडे