फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड ३ हजार फुटको ऊँचाई सम्म हुन्छ फलेको देख्न सकिन्छ । अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०–६० फुटसम्म अग्लो हुन्छ । वैज्ञानिक वर्गीकरण वनस्पति जगतको ऐनाकार्डियेसी वर्गमा पर्ने आँपका केही रूखहरू धेरै नै अग्ला हुन्छन् ।
आँपको फल विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा पनि मानिन्छ ।
शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अङ्ग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरीपना रोक्नसमेत प्रभावकारी मानिन्छ ।
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ’ए’, ’सी’ र ’बी’ लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइट्रिक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।
आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ । एक सय ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ । धेरै गुलियो मन पराउनेहरुले भने दशहरी आँप खोज्छन् । यी आँपमा झुत्रा नलाग्ने र खान पनि स्वादिष्ट हुन्छ । पैरी, सरपुरी, रुमानी, मलिका, लगंरा, नीलम, जर्दालु, गोपालभोग, गुलाब खस, अम्रपाली, मालदह, खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् । आँपको प्रजातिअनुसार मूल्य फरक–फरक छ । श्रोत : विभिन्न कृषि साईड