भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबरधन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।
गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।
प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ ।
बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिकदस्ता जसलाई देउँसे भनिन्छ । यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउँसी हो । आउनुहोस, हाम्रो पात्रो परिवारको यो तिहारको देउँसी अडियो कोसेली स्वीकार गर्नुहोस् ।
ए! भन् मेरा भार्इ हो, देउँसी रे…
देउँसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन् । स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउँसीका सर्वप्रिय भाकाहरु बाहेक धेरै अन्य पंक्तिहरु परिस्थितीपरक हुन सक्छन्, कहिलेकाँही देउँसेको अपेक्षाअनुरुप देउँसीको दक्षिणा नपाँउदा भने यस्तो सङ्गीत संवाद हुने गर्दछन्ः
“यो घर हेर्दा सिंहदरबारजस्तो
आँगनहेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो…”
अन्य प्रशिद्ध पंक्तिहरु….
“केराको थम्वा
हामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला
ताते रोटी मिल्ला” जस्ता पंक्तिहरु हामीमध्ये धेरैको बाल्यकालसँग जोडिएको होला ।
देउँसेले दिएको आशिषले साँच्चिकै विशेष मान्यता राख्दछ….
“यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन…” जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामी सबैलाई देउँसेले दिएको आशिष लागोस्, सदभाव बढोस् । आजको दिन रिसराग सबै भूलेर छरछिमेकको घरमा देउँसी खेल्न जाने र सदभाव बढाउने चलन छ । देउँसीवाट संकलित रकमले कुनै सामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेका छन् ।