काठमाडौं,
पत्रकारमाथि हुने अपराधमा दण्डहिनता विरुद्धको अन्तर्राष्ट्रिय दिवस, बुधबार मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि हरेक वर्ष नोभेम्बर २ तारिखमा यो दिवस मनाउन थालिएको हो ।समाचार लेखेको वा प्रसारण÷प्रकासन गरेकै आधारमा विश्वमा पत्रकारको हत्या तथा उनीहरुमाथि धम्कि दिने क्रम रोकिएको छैन ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले पत्रकारविरुद्ध हुने अपराध न्युनिकरण तथा त्यस्ता अपराधमा संलग्नलाई कारवाही हुनुपर्ने आवाज उठाउँदै आएको छ । गएको एक दशकमा समाचार तथा जानकारी सर्वसाधारण नागरिकको पहुँचमा ल्याएकै कारण विश्वभरमा ८ सय भन्दा धेरै पत्रकारको हत्या भएको छ ।
सन् २०१२ पत्रकारका लागि सबैभन्दा त्रासको वर्ष बनेको थियो । त्यो वर्ष एक सय २४ जना पत्रकारको हत्या भएको युनेस्कोले जनाएको छ । यस्तै सन् २०१४ मा ९८ जना र सन् २०१५ मा एकसय १५ पत्रकारको समाचार लेखेकै आधारमा हत्या भएको थियो । महिला पत्रकारको अवस्था झनै कठिन छ ।
तर गएको एक दशकमा पत्रकारको हत्यामा संलग्न मध्ये १० प्रतिशतलाई मात्रै कारवाही भएको छ । यसले समाजलाई अनिश्चितताको खाडलमा धकेल्दै गलेकाले अहिले नै सचेत हुनुपर्नेमा युनेस्कोले जोड दिएको छ ।
दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रसंघका महासचिव बान कि मुनले सत्यता बाहिर ल्याउन आफूलाई जोखिममा पार्न पछि नहट्ने पत्रकारप्रति आफ्नो सम्मान रहेको बताउनुभयो । पत्रकार समस्यामा पर्नु समग्र समाज नै समस्यामा पर्नु भएकाले पत्रकारविरुद्ध हुने अपराध न्युनिकरण र अपराधिलाई कारवाहीको दायरामा ल्याउन सबै एक हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
यस्तै युनेस्कोकी महानिर्देशक इरिना बोकोभाले अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार विश्वका सबै राष्ट्रले पत्रकारको सुरक्षाका लागि वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।उज्यालोबाट