झापा : सामुदायिक विद्यालयहरूले भुक्तानी नपाएको भन्दै शिक्षकहरूले अर्जुनधारा नगरपालिकामा तालाबन्दी गरेको छन्। नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षकहरूले नगरपालिकाको मुल ढोकामा तालाबन्दी गरेको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र संघीय सरकारको ससर्त अनुदानअन्तर्गत अघिल्लो आर्थिक वर्षमा अर्जुनधाराका १५ वटा सामुदायिक विद्यालयले न्यूनतम साढे ६ लाखदेखि ३६ लाख रुपैयाँसम्म बजेट प्राप्त गरेका थिए। सरकारले विद्यालयको भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न नगरपालिकालाई करोडौँ रकम पठाएको थियो। सरकारले रकम पठाएपछि विद्यालयहरूले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विद्यालयका शिक्षकहरूले बताएका छन्।
‘असार १५ गतेभित्र बिल भरपाई नगरपालिकाको लेखा शाखामा बुझाएका थियौं,’ शिक्षक खत्रीले भने, ‘अहिले बजेट फ्रिज भयो, फिर्ता गयो भन्दै आलटाल गर्ने काम भइरहेको छ।’
नगरपालिकाले विद्यालयलाई रकम भुक्तानी नगरेकाले तालाबन्दी गरिएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले बताए। विद्यालयले संरचना बनाउँदा बाँकीमा सामान खरिद गरी काम गरेको उनले बताए। उनले भने, ‘अब नगरले भुक्तानी नदिँदा शिक्षकले घर जग्गा बेचेर तिर्नु पर्ने हो?, यो सब नगरपालिकाको कमजोरी हो।’
१५ वटा विद्यालयमध्ये २/४ बाहेक अधिकांश विद्यालयले भुक्तानी नपाएको बुझिएको छ। यता शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयनाथ रेग्मीले असार ३० गते लेखा शाखाको सफ्टवेयरमा समस्या आएकाले यो अवस्था सिर्जना भएको बताए। समस्या अर्जुनधारामा मात्र नभई अधिकांश स्थानीय तहमा देखिएको उनको भनाइ छ। उनले भने, ‘नगरपालिकाले पहल गरेमा विद्यालयले भुक्तानी पाउँछ।’ कति वटा विद्यालयको भुक्तानी बाँकी छ भन्ने यकिन तथ्यांक आफूसँग नरहेको उनले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले शिक्षकले नगरपालिकालाई जानकारी नगराई तालाबन्दी गर्ने कार्य गलत भएको बताए। ‘नगरपालिकाले भुक्तानी दिन चौबिसै घण्टा काम गरिरहेको छ,’ उनले भने, ‘कहाँ त्रुटि भयो आफूलाई यस विषयमा केही जानकारी भएन।’