Aamsanchar

सप्तरीमा युवकको रहस्यमय अवस्थामा शव फेला

Author Image
बुधवार, साउन २०, २०७८

 

सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको ज्यान गएको घटनाको एक हप्ता नबित्दै सप्तरीमा फेरि अर्का दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा टोलमा आज बिहान स्थानीय मुक्ति रामका २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । हिजो साँझ नै घरबाट निस्किनुभएका श्यामसुन्दर रातभरि नआएको र बिहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् । यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दाबी गरेका छन् ।

परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता माधवप्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, तर पनि पोष्टमार्टम रिर्पोट आएपछि त्यही अनुसार अनुसन्धान अघि बढाउँनेछौं’, उहाँले भन्नुभयो ।

मृतक श्यामसुन्दरका पत्नी र साढे दुई वर्षीया छोरी छन् । अहिले मृतकको शव पोष्टमार्टमका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर