Aamsanchar

उपमेयरको फोटो फेसबुकमा राखेर अश्लिल शब्द लेख्ने पक्राउ

Author Image
शनिवार, साउन २३, २०७८

मोरङ- मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने एक युवा पक्राउ परेका छन्।उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेललाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो।

फेसबुकमा उपमेयर भण्डारीको फोटो नै राखेर अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उपमेयरलाई भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमार्फत पनि गालीगलौज गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ। अपशब्द प्रयोग गरेर आफूलाई हैरानी पारेको भन्दै उपमेयर भण्डारीले प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। गत बिहीबार पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ। उपमेयर भण्डारीका अनुसार खरेलको परिवारमा श्रीमान–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको थियो।

‘श्रीमतीलाई कुटपिट गर्ने र घर निकालासमेत गर्ने गरेको पाइएपछि दुई पक्षको झगडा मिलाउनलाई नगरपालिकाको न्यायिक समितिमा बारम्बार छलफल गरियो। मिलेर बस्न सुझाव दिएर पठाइन्थ्यो,’ उनले भनिन्, ‘तर मिल्न नसकेपछि श्रीमान–श्रीमतीले सम्बन्ध विच्छेद गरेछन्। त्यसपछि खरेलले फेसबुकमा फोटो राखेर मविरुद्ध विभिन्न अश्लिल कुरा लेख्ने र भेटेका ठाउँमा समेत गालीगलौज गर्ने गरेकाले प्रहरीमा जाहेरी दिएकी हुँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर