Aamsanchar

११ वर्षीया बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ

Author Image
सोमवार, साउन २५, २०७८

गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

उनका अनुसार बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार भएको थियो। बालिकामाथि बलात्कार भए पनि उनले घटनाबारे खुलाएकी थिइनन्। बालिकाकी आमाले पहिले श्रीमानलाई छाडेर गएकी थिइन्। आमाले घर छाडेपछि बुवा नै बालिकाको संरक्षक भएका थिए। पछिल्लो समय बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफ्नी फुपूलाई खबर गरेकी थिइन्।

‘आमाले पहिले नै छोडिसकेकी थिइन्। उनका भाइ र बहिनी पनि छन्,’ प्रहरी उपरीक्षक खनालले भने,’पछि स्वास्थ्यमा समस्या देखियो। समस्या आएपछि बालिकालाई फुपूलाई खबर गरिन्। तर घटनाबारे जानकारी नगराइ समस्याबारे मात्रै भनिन्। अनि सुरूमा चितवनमा उपचार गराउन लगियो।’ चितवन हुँदै उनीहरू काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पुगेका थिए। चिकित्सकले बालिकामाथि बलात्कार भएको छ भन्ने जानकारी गराएका थिए।

‘चिकित्सकहरूले बालिकामाथि बलात्कार भएको थियो भन्ने कुरा गरेपछि फुपूले बालिकामाथि सोधपुछ गर्‍यो। पछि बुवा र काकाले नै बलात्कार गरेको थाहा भएपछि हामीलाई शुक्रबार जानकारी आयो,’उनले भने,’हामीले त्यही दिन दुबै जनालाई पक्राउ गर्‍यौं।

प्रहरीले बालिकाकी बुवालाई घरबाटै र काकालाई तनहुँबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरी अघि बढाएको छ। त्यस्तै, बालिकाको स्वास्थ्य अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ। बालिका फुपूको संरक्षणमा छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर