Aamsanchar

सफलताको कथा : समान्य कृषक, दुधवाला हुदै करोडौं कमाउन सफल पौडेल साहुँजी

Author Image
बुधवार, साउन २७, २०७८

मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने योजनाका साथ कामप्रतिको संक्रियताले भने निरन्तरता पाइरहनुपर्छ ।

यस्तै चाहाना बोकेर अघि बढ्नुभएका झापा मेचीनगर— १० धुलावारीका ६५ वर्षीय नरप्रसाद पौडेलको बाल्यअवस्थादेखि सोचेको र भविष्यमा गएर यो गर्छु भनेर देखेको सपना अहिले आएर पुरा भएको छ । उसवेला उहाँले देखेको सपना यतिखेर उहाँको जीवनमा ठ्याक्कै मिलेको छ । उसवेला ठुलो व्यपारी हुने देखेको सपना अहिले साच्चै साकार भएको छ उहाँको जीवनमा ।

२०१३ सालमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गमा दिवंगत बुवा आमा मेदनीप्रसाद र विष्णुमाया पौडेलका कोखबाट उहाँको जन्म भयो । स्वर्गीय मेदनी र विष्णुमायाका ५ छोरा र ३ छोरीगरी ८ सन्तानमध्ये काईलो छोराको रुपमा नरप्रसादले यो धर्तीमा पाइला टेक्नुभयो । अत्यन्तै सामान्य परीवारमा जन्मनुभएका उहाँले जीवनमा निक्कै हण्डर खानुपर्यो । जन्मेको १ वर्षमै उहाँका बाबुआमाले उहाँलाई च्यापेर आसामको मणिपुर पुग्नुभयो । पौडेल दम्पतिको त्यता बस्न किन मन मान्थियो र ! पुनः २०३७ सालमा उहाँहरु नरप्रसादलाई च्यापेर आफ्नै मातृभूमि नेपाल फर्कनुभयो । त्यसवेला नरप्रसादको उमेर पनि २४ वर्षको थियो ।

तात्कालिन ज्यामिरगढी गाउँ पञ्चायत वडानम्बर—५ हालको मेचीनगर नगरपालिका वडानम्बर —१५ मा स्थानीय गोपीकृष्ण गौतमको सानो कटेरोमा ढाकर विसाउन आइपुगेको पौडेल परिवारले बाच्नका लागि खानु त पर्दाे रहेछ भन्ने ठानेरै गाउँघरमा साहुँ महाजनको खेत अधिया ठेक्कामा कमाउन थाल्यो । नरप्रसादलाई अहिले पनि झलझलि सम्झना छ उसवेला स्थानीय खनाल थरका साहुँको खेत अधिया र ठेक्का कमाएको । वर्षभरि घाम र पानीमा डढ्दै र भिज्दै खेती किसानी गरे पनि अन्न भित्रियाउने बेलामा हातमुख जोड्न र परै जाओस साहुँको ऋणसम्म तिर्न नपुग्ने भयो । पौडेल परिवार आफ्नै कर्मलाई सम्झिदै भन्थे ‘बर्मा गए कर्मसँगै ।’

१३ वर्षकै उमेरमा बुबा मेदनीको निधन भयो । नरप्रसादका जेठा र साहिला दाजुले पनि यो धर्ती छाडे । उसवेला हराएका माइला दाजुको अझै टुङ्गो लागेको छैन् । त्यसकारण घरभित्रदेखि बाहिरको सवै जिम्मेवारी नरप्रसादकै काधमा थियो । के गरेर हुन्छ, कसो गरेर हुन्छ घरको गर्जाे टार्नेदेखि चाडपर्वमा मिठो मसिनोसम्म जुटाउने जिम्मा उहाँले नै भेला नगरे धरै थिएन् । उहाँको पढ्ने धोकोमा शुरुमै पूर्णविराम लाग्यो । आफुमा पढने इच्छा हुँदाहुदैं पनि घरको अवस्थाले पाठशालासम्म टेक्न नपाएको पीडा सुनाउदैं उहाँले आफुले नपढे पनि सन्तानलाई उच्च शिक्षा दिनुपर्छ भनेरै गाउँका पाठशालादेखि शहरका सुविधा सम्पन्न विद्यालयसम्म पुर्याएको उहाँको भनाई छ । उहाँकी एक्ली छोरी विएसी नर्सिङ गराएर अष्ट्रेलिया पुर्याएर एमएससीसम्म पढाउनुभयो ।

नरप्रसाद पनि क्रमस ठिटो हुदैं जानुभयो । घरमा विहे गर्ने कुरा गाईगुई कुरा चल्न थाल्यो । नभन्दैं २५ वर्षको उमेर वा २०३८ सालमा झापा मेचीनगर —१० कै दिवंगत बाबुआमा जयप्रसाद अधिकारी र निर्मला अधिकारीकी कान्छी छोरी पवित्रा अधिकारीसँग लग्नगाठो कस्न पुग्नुभयो नरप्रसाद । पवित्रासँग लग्नगाठो कसेपछि उहाँमा जिम्मेवारी थपियो । घरको सवै रेखदेख उहाँले नै गर्नुपर्नेभयो । विवाहपछि जीवनसंगिनी पवित्राले समेत उहाँलाई विभिन्न दुःख सुःखमा साथ दिन थाल्नुभयो । मध्यम र सामन्य परिवारमा जन्मनुभएका नरप्रसादको कुनै न कुनै दिन ठूलै व्यपारी हुने धोको र आफुले उसवेला देखेको सपना जीवनसंगिनी पवित्रालाई सुनाउन थाल्नुभयो । यहाँसम्म आइपुग्दा पौडेल परिवारलाई विहान बेलुका हातमुख जोड्नै धौ धौ थियो । खनाल जस्को जग्गा ठेक्कामा कमाउदैँ आउको पौडेल परिवार महाजनले त्यही जग्गा पनि बेचिदिएपछि झण्डै समस्यामा पर्यो ।

साहुँले जग्गा विक्री गरिदिएपछि अब भने व्यपार गर्ने सोच बनाउन थाल्नुभयो उहाँले । अनि शुरु गर्नुभयो गाउँभरिका दुध संकलन गरैर दुईवटा टिनमा हालेर भारमा बोकेर बजार पुर्याउने पेशा । यो पेशा पनि कहाँ सजिलो थियो र । ज्यामिरगढीदेखि धुलावारीसिरानसम्म दैनिक ५ देखि ८ किलोमिटरसम्म हिड्नु उहाँका लागि चानचुने कुरा थिएन । तर, पनि बृद्घआमा, कान्छो भाई श्रीमतीसहित ७ जनाको परिवार पाल्नै पर्ने उहाँको दायित्व थियो । त्यही भएर उहाँले भारमा दुध बोकेर दैनिक हिड्दा जसरी खुट्टा फुटे, पोल्थे सवै विर्सिएर मात्र सम्झिनुहुन्थयो विहान बेलुकाका लागि चामल कर्हाँबाट कसरी जुटाउने हो ? जीवनमा उहाँले निक्कै संघर्ष गर्नु पर्यो आफ्नो घरवार चलाउन उहाँले ।

२०४२ सालबाट भारमा दुध बोक्ने पेशालाई विश्राम दिएर २०४३ सालदेखि साइकल किनेर साइकलमा दुध बजार पुर्याउन थाल्नुभयो । ज्यामिरगढी बस्दासम्म उहाँले धेरै दुःख गर्नुभयो । भार र साईकलमा दुध बोक्ने पेशाले उहाँमा रोग शुरु भयो । डढेलो दुख्ने, हातखुट्टा पोल्ने । तर, पनि यो पेशालाई उहाँले निरन्तरता दिईरहनुभयो । नदिए त परिवारको मुखमा माड नलाग्ने भयो । अन्तःत २०४७ सालमा सानो घुम्तीमा १७ सय रुपैयाँ लगाएर व्यपार शुरु गर्नुभयो । नेकपा एमालेका स्थानीय नेता गजेन्द्र खवास उहाँका बलसखा हुनुहुन्छ । मेलपात जादा होस या गाईवस्तु चराउदा नरप्रसाद आफ्ना बलसखा खवाससँग भन्नुहुन्थयो रे मलाई पछि गएर ठूलो व्यपारी बन्ने इच्छा छ ।

अहिले मेचीनगर— १० धुलावारीमा खाद्यन्नको पसल छ उहाँको ‘पौडेल किराना पसल’ । १७ सयबाट शुरु गरेको व्यवसायले अहिले उहाँलाई करोडौंको मालिक बनाएको छ । यो व्यवसायसँगै उहाँको परिचय समेत बदलिएको छ । ‘पौडेल किराना पसल’ का पौडेल भनेपछि स साना बालबच्चादेखि ज्येष्ठ नागरिकले समेत उहाँलाई चिन्छन् । नरप्रसाद समाजमा निक्कै कहलिनु भएको छ यतिखेर ।

मेची उद्योग बाणिज्य संघमा कार्यकारिणी सदस्य, रामघाट दिव्यधामको कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गर्नुभएका पौडेल अहिले श्री महाङ्गकालेश्वर शिवालय एवम् पुण्यश्वरी दुर्गा मन्दिरको दुई कार्यकाल अध्यक्ष भएर नेतृत्व प्रदान गरिरहनुभएको छ । उहाँकै पहलमा मन्दिर परिसरमा श्री महाङ्गकालेश्वर सामुदायिक भवन निर्माण भएको छ । जस्ले गर्दा कुनै कार्य गर्नुपरे स्थानीयलाई ज्यादैं सुविधा मिलेको छ । मन्दिर परिसरमै पौडेलले व्यक्तिगतरुपमा २ लाख ६५ हजार रुपैयाँ खर्चेर गणेशको मन्दिर र प्रतिमा राख्नुभएको छ । उहाँ धार्मिक, शैक्षिक र समाजसेवाकाक्षेत्रमा समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ ।

शैक्षिकक्षेत्रको श्रीबृद्घिका लागि सक्दो सहयोग गर्नुहुन्छ उहाँ । कसैलाई खाली हात नपठाउने सक्ने सहयोग गर्ने उहाँको आमाले सिकाउनु भएको बानी हो । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका उहाँका हातहरुले प्रमाणित गरिरहेका छन् । ‘मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना अमूल्य हुन्छ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्छ ’उहाँले भन्नुभयो । समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितको निम्ती गर्नुपर्ने उहाँको बुझाई छ ।

विस्तारै सन्तानको जायजन्म भयो । दुईछोरा र १ छोरी जन्मे नरप्रसाद र पवित्राका कोखबाट । उनीहरुलाई उचित शिक्षादिक्षा दिनुभयो । सवैलाई विवाहबन्धनमा बाँधिदिनुभयो । आ —आफ्नै खुट्टामा उभिएका छन् सवै सन्तान । घरको भरथेकमा सवैले होस्टेमा हैसे गरीररहेका छन् । जेठो छोरा तुलसीप्रसाद सपरिवारसहित ८ वर्ष डेनमार्क बस्नुभयो । तर फर्केर अहिले बाबुकै विडो व्यपार थामेर बस्नुभएको छ । कान्छो भूमिले समेत व्यपार थामेका कारण नरप्रसाद दम्पतिपनि खुशीले गदगद छन् ।

‘उसवेला र अहिलेको मेरो परिवारको जीवनस्तर जमीन आकाशको फरक छ ’ नरप्रसादले अतित सम्झिदै भन्नुभयो —‘यो सवै परिवारकै साथ सहयोग एकता र मेलमिलापले नै हो । अहिले मलाई कुनै दुःख छैन । ’ समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ । समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएकोमा उहाँ चिन्ता प्रकट गर्नुहुन्छ ।

नरप्रसादले जीवनमा निक्कै हण्डर र ठक्कर खादैं यहाँसम्म आइपुग्दासम्म उसवेला निन्दा र पालिया खोलाको बगरमा गाईवस्तु चराएको, तिहारमा साथीभाईहरुसँग मिलेर देउसी खेलेको, गोठाले जीवनमा डण्डीवियो खेलेको गाउँमा धामीझाँक्रीले चिन्ता बस्दैं गर्दा ढ्याङ्रो ठोकेको हेर्न राति राति निक्कै टाढा टाढासम्म पुगेको स्मरण अहिलेसम्म ताजै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर