गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउँछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूर–पश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म धार्मिक कार्यहरूको आयोजना गरी मनाइन्छ । विशेषगरी डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो, गौरापर्व ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् । तिनै पुत्रको तेजले आँखा देख्न नसक्ने हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । विरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा–आजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाइन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्छन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख–शान्ति प्राप्त हुने, इष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।
राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ । गौरा पर्व सुदुरपश्चिमसँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रूपमा लिइनु जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरूको मन आखिर एउटै त हो ।