गोरखा:
गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरूको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरू जीवनसाथी बन्न पाउँदा खुसी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरूको लामो प्रेम हालै विवाहमा बदलियो ।
नयाँ पुस्ताको यी जोडीको मात्र मायाप्रीति झाँगिएर बिहे भएको होइन । उनीहरूका बुबा-आमा, हजुरबा-हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो । गोरखाका उत्तरी भेग काशीगाउँ, केरौंजा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।
‘यहाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिस्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरू सबैको विवाह गर्ने परम्परा एउटै हो- पहिले मायाप्रेम अनि विवाह ।’ कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै बिहे हुन्छ, कसैको ५÷६ वर्षपछि । अधिकांश विवाह परिवारले स्वीकार गर्छन् । कसैकसैले स्वीकार नगर्दानगर्दै पनि बिहे गर्छन् । पछि समायोजन हुँदै जान्छ ।
मायाप्रेम र भावनात्मक सम्बन्धमा रमाउने, कहिल्यै दुःख नदिने, सँगै जिउने-मर्ने विश्वास पाएपछिमात्र जीवनसाथी बन्ने चलन यहाँ परापूर्वकालदेखिकै हो । काशीगाउँ ३ की वडा संयोजक सुनिता गुरुङले भनिन्, ‘परिवारसँग मागेर र विधिविधान पुर्याएर विवाह गर्ने चलन यहाँ छैन ।’
सुनिताका अनुसार पाँच सय घरधुरी रहेको काशीगाउँमा एक वर्षमा सरदर १०-१२ जोडीको बिहे हुने गर्छ । घले र गुरुङ उस्तै भए पनि यी दुईथरीको बिहेबारी पहिले बर्जित थियो । कसैले गर्यो भने परिवारले स्वीकार गर्न गाह्रो मान्थे । अहिले भने चल्न थालेको छ ।
‘घले-गुरुङबीच बिहे भयो भने बिजोडी किन बिहे गरेको भनेर कराउने चलन थियो पहिले । केही गरी बिहे गरे भने पनि परिवारमा हेलाँ हुन्थ्यो तर अहिले त्यस्तो छैन’, उनले भनिन्, ‘अहिले गुरुङ र कामी, घले र कामीको पनि बिहे हुन थालेको छ ।’ तर यस्तोचाहिँ आक्कलझुक्कल मात्र हुने गर्छ । यहाँ प्रायजसो १५ वर्षदेखि २१-२२ वर्षसम्म उमेर पुगेपछि बिहे हुने स्थानीयहरू बताउँछन् ।
‘कसैको मायाप्रेम बसेको दुईतीन महिनामै पनि बिहे हुन्छ, कसैको केही वर्षमा’, बुद्धिमान भन्छन्, ‘बिहे भएपछि बुबाआमाले स्वीकार गरिहाल्छन् ।’ स्वीकार नगरे परिवारबाट अलग्गै रहेर घरजम गर्ने चलन रहेको उनको भनाइ छ । ‘मन पराई बोलचाल हुन थालेपछि परिवारले थाहा पाउँछन् । प्रायः परिवारले रोकतोक गर्दैनन् । कसैको परिवारले गरे भने कसैको जोडी छुट्टिन्छन् । छुटेनन् भने बिहे हुन्छ । परिवारले स्वीकार गर्छन् । स्वीकार गर्दैगरेनन् भने परिवारसँग छुट्टिएर बस्छन्’, बुद्धिमानले भने ।
मेलापर्ममा जान थालेपछि किशोरकिशोरीहरू एउटाले अर्कोलाई मन पराउने, नजिकिने क्रम सुरु हुन्छ । उनीहरूबीच जात्रामा, नाचगानमा सँगै बस्ने, अरू बेला पनि भेटघाटको क्रम सुरु हुन्छ ।
विवाह गर्दा बारचाहिँ हेर्ने चलन छ । काशीगाउँमा बिहीबार र शुक्रबारमात्र बिहे गर्ने चलन छ भने केरौंजामा आइतबार, बुधबार र बिहीबारमात्र बिहे गर्ने चलन छ । दुलाहाले दुलहीलाई रातको समयमा भगाएर लैजान्छन् । भोलिपल्टमात्र घर, आफन्त र छरछिमेकलाई जानकारी हुने गर्छ । ‘छोरी सुतेकी होली भन्ने हुन्छ । भोलिपल्ट मात्र छोरी गइछ भन्ने थाहा हुन्छ’, सुनिताले भनिन्, ‘केटाको घरमा चाहिँ त्यही दिनमा थाहा हुन्छ । राति भगाएर ल्याएपछि बुबाआमालाई मैलै ‘बूढी’ ल्याएको छु भनेर खबर गर्छन् ।’ समझदारीमै भए पनि राति भगाएर बिहे गर्ने प्रचलन रहेको उनले बताइन् ।
कतिपय गाउँमा भने मायाप्रेम चल्न थालेपछि र परिवारबाट सकारात्मक संकेत पाएपछि विवाह हुनुअघि नै केटीको घरमा काम गर्न जाने, राति केटीसँगै बस्ने परम्परा छ । ‘केटीको घरमा घाँस, दाउरा काटिदिने, पानी ओसारिदिने गर्छन्’, बारपाक १ की सुनिता गुरुङ भन्छिन्, ‘बिहे भइसकेजस्तो केटा र केटी एउटै ओच्छ्यानमा सुत्ने, एउटै जहानपरिवारजस्तो भएपछि केटी घरमा लैजाने गर्छन् ।’ तर सबैको यस्तो नहुन पनि सक्छ । बिहेअघि कुनै विधिविधान नपुर्याए पनि बिहेपछि माइती बुझाउने चलन भने छ ।अन्न्पूर्णबाट