तिजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारी–प्रधान चाडले ढकढक्याउँछ । स्वागत छ, यो ऋषि पञ्चमीको दिन विशेषमा । तिजको व्रतपछि फेरि दिदी–बहिनी अनि आमाहरूले आजको दिन त्यही उत्सर्ग र उत्साहका साथ मनाउने दिन हो, ‘ऋषि पञ्चमी’ ।
हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरू छन् । बादलहरू थोपाथोपा मा पग्लिरहेका छन् । अनि जलको स्पर्शले कमाटोहरू पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरूले चोक–चौराहा अनि मठमन्दिरहरू खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरूले सप्त ऋषिहरूको पूजा अर्चना गर्ने विशेष दिन ।
आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए तिनको शुद्धाशुद्धी निम्ति पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीविना सम्भव छैन । हामीले रजस्वलालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोचले हेरेपनि श्रृष्टिको प्रथम र पुण्य गुण नै नारीहरूको रजस्वला हो । रजस्वला नारीहरूको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ । त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलाई दिएको महत्वको इतिहास पनि । नारीलाई रजस्वलाको दिनहरूलाई चारवटा देवीहरू अनुरुप तुलना गर्ने चलन छ । पहिलो दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।
शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनुपर्छ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वला नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सिर्जनाको प्रतिवद्धता कायम गर्न जरुरी छ । नारी भनेको माया र शक्तिका प्रतिमूर्तिहरू हुन् । देवीहरू हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
शक्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।
महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनी परापूर्वकालमा भान्सा अनि अन्य कामहरू गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरणरहोस्, नारीहरूको रजस्वलाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ ।
आजको दिन नारीहरूले अपामार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडिबुटी गुणयुक्त वनस्पति ९दतिवन० को प्रयोग गरी बिहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्छन् । अपामार्ग अर्थात् दतिवन नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द अपामार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँछ । १०८ वटा अपामार्ग ९दतिवन० का डाँठका टुक्राहरूको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्छन् । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात् दूध, दही, घिऊ, दुबो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएका सामाग्री एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरू नहुने र भएको भए पनि निको हुने विश्वास गरिन्छ । यसरी बिहानै स्नान गरी शरीर र आत्मा शुद्ध गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, अत्रि, भरद्वाज, विश्वमित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ । त्यसपछि ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
आजका दिन काठमाडांै टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका ऋषि आश्रमहरूमा विशेष घुइँचो लाग्छ । यो दिन नारीहरूले आफ्नो शौभाग्यका सूचक सिन्दुर पोते अनि चुरा धागोहरू चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वैदिक सनातन हिन्दू संस्कारको वैज्ञानिक चाडहरूमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्युवरण गरेका नमीठा खबर सुन्न नपरोस्, यस जगले रजस्वलाको महत्व बुझ्नुपर्छ ।