Aamsanchar

‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदै

Author Image
शुक्रवार, असोज १, २०७८

डोटी – असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज संक्रान्तिका दिनमा मनाइन्छ। दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकका अनुसार मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा बुढी पोल्ने पर्व मनाइँदै आइएको छ।

सुदूरपश्चिममा भाद्र संक्रान्ति अर्थात् भदौ १ गते बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ। उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले बताए।

उनका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ। यसैगरी उक्त बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ। आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन्।

किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला ९गोठाला०हरुले पुतनाको शवदहन गरेको कथन रहेको शिखर नगरपालिका–१ का पण्डित गुणकर जोशीले बताए। द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो। पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर