काठमाडौं:
अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामाको माग सम्बोधन हुने गरी भारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत् प्राधिकरणको योजना छ ।
भारतबाट हाल (शनिबार साँझसम्म) दुई सय ४८ मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ ।
नेपाल र भारतका ऊर्जा अधिकारीबीच शनिबार नयाँदिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैया-कुसाहाबाट पचास-पचास गरी थप दुई सय पचास मेघावाट विद्युत् दिन भारत सहमत भएको हो ।
बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवं विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट चौबीसै घन्टा तीस मेगावाट बिजुली तत्काल ल्याउन दुवै देशका अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणको योजना अनुगमनका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पावर ट्रेडिङ इन्डियाका श्रीहरि शरणले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टनकपुरको बिजुली प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारु (पाँच रुपैयाँ पचास पैसा) मा नेपालले खरिद गर्नेछ ।
यसका अतिरिक्त टनकपुरबाटै नेपालले थप चालीस मेगावाट बिजुली ल्याउने अर्को सहमति भएको प्राधिकरणका प्रवक्तासमेत रहेका अधिकारीले बताए ।
टनकपुरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमतालाई पचास एमभीएबाट एक सय एमभीएमा वृद्धि गरी थप बिजुली ल्याउन सहमति भएको हो । यसका लागि आगामी बुधबार दुवै देशका प्राविधिक टोलीले टनकपुर सबस्टेसनको संयुक्त अवलोकन गरी आगामी डिसेम्बरको अन्तिम साता वा जनवरीको पहिलो साताभित्रै बिजुली आपूर्ति गरिने उनले बताए । टनकपुरबाट व्यापारिकका अतिरिक्त नेपालले महाकाली सन्धिअनुसार सात करोड युनिट (बाह्रदेखि सोह्र मेगावाटसम्म) निःशुल्क लिइरहेको छ ।
भारतसित भएको सहमतिअनुसार उसले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन (व्यापारिक) बाट थप असी मेगावाट बिजुली नेपाललाई आपूर्ति गर्ने भएको छ । हाल सबस्टेसन र ट्रान्सफर्मरको व्यवस्था नभएकाले असी मेगावाटमात्र बिजुली आयात भइरहेकोमा सय एमभीएको ट्रान्सफर्मर भारतको पूर्णियाबाट ल्याएर बढीमा एक महिनाभित्र ढल्केरबरमा जडान गर्ने सहमति भएको छ । यसको बन्दोबस्तीका लागि भारतको पावर ग्रिडले उसको केन्द्रीय विद्युत् प्राधिकरणलाई दुईतीन दिनभित्रै प्राविधिक प्रतिवेदन पेस गर्ने र उसको सहमतिपछि थप असी मेगावाट बिजुली आयात हुने अधिकारीले बताए ।
नेपाल-भारत ऊर्जासचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) बैठकले आगामी डिसेम्बरभित्र ढल्केबरको बिजुलीलाई दुई सय बीस केभीमा चार्ज गरी थप असी मेगावाट बिजुली ल्याउने निर्णय भएको थियो । तर नेपालतर्फ चिनियाँ ठेकेदारले ढल्केबरमा निर्धारित समय (डिसेम्बर) मै सबस्टेसन निर्माण गर्न नसक्ने भएकाले तत्कालका लागि पूर्णियाबाट विस्थापन गरिएको ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।