Aamsanchar

माओवादीबाट निर्वाचित दुई वडाध्यक्ष पार्टीबाट निष्कासित

Author Image
बिहिवार, कार्तिक २५, २०७८

धनकुटा – नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडाअध्यक्ष पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७ को ञ अनुसार पार्टीबाट निश्कासन गरेको पार्टीका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए। उनीहरुलाई वडाअध्यक्ष पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रकृया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले बताए।

महालक्ष्मी ३ का वडाअध्यक्ष थापा गत कार्तिक ९ गते एमाले प्रवेश गरि एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन्।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर