गोबिन्द न्यौपाने
अहिले हाम्रो मुलुकका अधिकांश क्षेत्र स्थानीय तह पुनरसंरचनाका विषयमा छलफलमा केन्द्रित रहेको छ । कतै ‘जिल्ला प्राविधिक समिति’ मार्फत आफ्नो प्रतिवेदन माथि तल्लो निकाय पठाउने कार्य सकिएका छन् भने कतै विरोध अवरोध र असन्तुष्टिका कारण अलिकति पनि काम अगाडि बढाउन सकिएको छैन ।
राज्य पुनरसंरचना आयोगले पटक पटक गरेर अन्तिम तिनदिने समय सीमा तोकिएता पनि गत आइतबार सो समय समेत सकिएको छ । हालसम्म देशका ६४ वटा स्थानबाट ‘जिल्ला प्राविधिक समिति’ मार्पmत निर्णयको फाइल स्थानीय पुनरसंरचना आयोगमा पुगी सकेका छन् भने अन्य बाँकीमा सहमति र सहकार्यको खोजि गरिरहेको अवस्था छ । राज्य पुनरसंरचना आयोगमा अध्यक्ष बालानन्द पौडेल यही १५ गते सम्म सरकार समक्ष आफ्नो पूर्ण र विवाद रहित प्रतिवेदन बुझाउने प्रतिवद्धता जनाएका छन् ।
यसरी सरकार चुनाव उन्मुख रहेर सबै निकायलाई आफ्नो कार्यशैलीमा कन्जुस्याई नगरी कार्य गर्न निर्देशन दिइरहेको अवस्थामा जन चाहना र बहुमतले शान्तिपूर्ण रुपमा पारित गरी निर्णयार्थ जिल्ला संयन्त्र मार्फत सरकारलाई बुझाएको प्रतिवेदनलाई आन्दोलन र नारावाजी मार्फत परिवर्तन गराउछु भन्दै सोझा सिधा स्थानीय माथि राजनीति गर्नु न्याय नहुन सक्छ ।
यस्तो पुनरसंरचाकै बहस चलिरहेको अवस्थामा संस्थागत रुपमा म आवद्ध पार्टी, संघ, संस्था र मेरो साथीभाइहरु हामी अब कता त ? भन्ने द्विविधामा भइरहेको हुन सक्दछौं, अथवा सम्पूर्ण शान्तिनगरबासीमा अन्योल र विविध अड्कलबाजीले अप्ठ्यारो पारी रहेको हुन सक्छ ।
त्यसलाई म व्यक्तिगत रुपमा कसैको बहकाउमा नलागि आफ्नो पहिचान, आफ्नो विकास र आफ्नो अस्तित्वका लागि नडराई, नधकाई खुलेर निर्णयमा पुग्न आह्वान गर्दछु । त्यसैले म आफ्नो व्यक्तिगत विचार सम्पूर्ण शान्तिनगरवासीको भलाईमा रहेको तथ्य बुदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।
नामाकरणमा शान्तिनगर शब्दको अस्तित्व चाहन्छौं ।
हामी शान्तिगरबासी हाम्रो नामको छुट्टै अस्तित्व छ भन्न रुचाउछौं । हाम्रो ‘शान्तिनगर’ भन्ने शब्दमा अशान्तिबाट टाढा, हरियाली र वनजंगलको शितलता अनि जिवजन्तु र चराचुरुङ्गिले समेत खुलेर श्वास लिन पाउने स्थानका रुपमा रहेको अर्थ झल्कन्छ ।
यहाँको एक आपसको मित्रता र सांस्कृतिक एकतालाई पनि हामी शान्तिनगर शब्दसँगै दाँजेर व्याख्या विश्लेषण गरिरहेको अवस्था छ भने त्यसलाई चटक्कै विर्सेर आफ्नो पुरानो नामको निसान नरहने गरी आफ्नो नामाकरण गरी हामी शान्तिगरबासी अरु कुनै नामको मुनी रहेर गुमराहमा कदापी रहन चाहदैनौं । किनकी बुद्ध–शान्ति अथवा शान्ति–बुद्धमा हाम्रो गाउँको नामको केही अस्तित्व र पहिचान छ ।
विकासको नाममा झापाको कर्णाली नबनोस् शान्तिनगर ।
विकास र समृद्धिको ढोका खोल्न हामी बुधबारे र शान्तिनगर नै एक हुन आवश्यक छ न की उपमहानगरपालिका । अर्कैको नाममा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हुँदा मात्र सम्भव छ भन्ने गलत प्रचार भ्रमलाई शान्तिनगरबासीले चिर्नु पर्दछ । ‘विकास गर्नु छ भने आफैंबाट सुरु गर्नु पर्दछ’ भन्ने मुल नारा हाम्रो मन, मस्तिष्क र मुखमा गुन्जिनु पर्दछ भने व्यवहारमा देखा पर्नु पर्दछ – परिवर्तन ।
हाम्रो परिवर्तन अरुले गर्ने या गरिदिने कदापि होइन हामी आफैं आफ्नो ज्ञान, धारणा र व्यवहार परिवर्तनबाट मात्र विकासका खाका पाउन सक्दछौं । हामीले नगरपालिका हुँदाको विकास भनेर काँडरभिट्टा र धुलाबारीलाई उदाहरणको रुपमा लिएर हुँदैन यो त स्वतः स्फुर्त राजमार्ग र सिमाना बजारका कारण निर्मित संरचनाहरु हुन जुन त्यहाँका जनताकै इच्छा शक्तिद्वारा निर्मित हो । केही शान्तिनगरबासीहरु अरुबाट आफ्नो विकास हुन्छ भन्ने गलत र भ्रामक प्रचार गर्दै आफ्नो पक्षमा राजनैतिक समर्थन जुटाउन तल्लिन रहेको उदाहरण हामी देखिरहेका छौं । त्यसकारण हामीले बुझ्न जरुरी छ कि सिङ्गो गाउँपालिकालाई आउने बजेट आधा–आधा हुने गरी छुट्याएर विकास निर्माणमा लाग्न उत्तम छ कि एउटा वार्डका रुपमा छुट्याएको बजेटलाई बाँडफाँड गरेर प्रयोग गर्न ? त्यसकारण विकासका नाममा शान्तिनगरलाई मेचीनगरसँग मिसाएर झापाको कर्णाली बन्न कदापी दिनु हुँदैन ।शान्तिनगर त आफैंमा विकासको नमुना बोकेको क्षेत्र हो ।
भौगोलिक अवस्था र व्यापारिक सम्बन्धलाई गलत प्रचार गरिदै
भुगोल जहाँ मिल्छ त्यही व्यापार, व्यवसाय र आदान प्रदान बढी हुने गर्दछ । हामी सम्पूर्ण शान्तिनगरबासीको घरबारीमा उत्पादित थोरै खोर्सानी, सिन्की, गुन्द्रुक, निम्बु, कागती देखि लिएर बढेमानका राँगागाडा र गोरुगाडाले धान, कोदो, फापर, सुपारी इत्यादी बुधबारे बजार लगेको इतिहास हामीले भुल्नु हुँदैन ।
नकी बुधबारेबासीले शान्तिनगरबासीबाट गरिएको बजार व्यवस्थापनलाई सहयोग । शान्तिनगर र बुधबारेको दुरी, धरातल, बसोबासको अवस्था, शान्तिनगरबाट बाहिरी स्थान तर्फ जाने रुटको सहजतालाई हेर्ने हो भने पनि कसैको उक्साहटमा नलागिकन सम्पूर्ण शान्तिनगरबासी केही अपवाद बाहेक धरातल स्वरुप हेर्ने हो भने शान्तिनगर र बुधबारे नै मिलेर गाउँपालिका हुन जरुरी छ ।
शान्तिनगर गा.वि.स.को वडा नं. ३ ले वर्षौदेखि जस्तो सुकै परिस्थितिमा पनि आफ्नो पहिचानलाई कायम राख्न अहम भूमिका खेलेको हुँदा अब सबैले त्यसको उच्च मुल्याङ्कन गर्न जरुरी छ ।
सांस्कृतिक, जातजाति र क्लष्टरको नारा प्रचार मात्रै ।
यहाँ क्लष्टरको परिभाषा गर्न र प्रष्ट्याउन नसक्नेले क्लष्टरको हिसावमा दक्षिण तर्फ शान्तिनगर मेल खाने भन्दै भाषण बाजी गरेको पाइरहेको छु । यस भाषामा क्लष्टरको पूर्ण परिभाषा शब्दकोषमा नमिलेको मैले पाएँ ।
समुहगत रुपमा प्रायः एकै प्रकारका संस्कृति, व्यापार, व्यवसाय, जातजातिको झुण्ड नै क्लष्टरले प्रतिनिधित्व गर्दछ तर यहाँ त्यो शब्दले मेचीनगरसँग मिल्ने सम्बन्धमा छेउ न टुप्पोको अर्थ राख्दछ । क्लष्टरकै कुरा गर्दा त हामी बुधबारे गा.वि.स.बासीसँग मेल खाने म तर्क राख्न चाहन्छु ।
नेतृत्व कै हिसावले समेत हामी ‘बुध–शान्ति’मा नै सहमति जनाउनु पर्दछ
निश्चय नै उपमहानगर हुन रुचाउने झुण्डको आफ्नै स्वार्थ छ त्यो सबै जनतालाई छर्लङ्ग छ तर बाध्यता या समुह पट्टि नै समर्थन जनाउनु भन्ने मानसिकता र नभए एक्लो भइन्छ भन्ने भय ले उनिहरुलाई गाँजेको छ ।
शान्तिनगरबासीको तत्काल उपमहानगरपालिका बासीको रुपमा कर प्रणालीमा समावेस हुने आम्दानीका स्रोतहरु मेरो नगरमा न्युन छ । अधिकांस ज्याला मजदुरी र कृषि पेशामा आश्रित परिवारलाई एकै पटक करको दायरामा जाँदा आर्थिक भार त पर्ने नै छ भने गाउँको अभ्यासबाट अन्य पूर्वाधानको न्यून मापदण्ड पनि नभएको अवस्थामा उपमहानगरपालिकाको अभ्यासमा जान गाह्रो पर्ने छ भने नेतृत्वको हिसावले हेर्दा केन्द्र मा नै आलो पालोको अभ्यास भएको अवस्थामा दक्षिण तर्फ धेरै आकांक्षिहरुको लाइनमा शान्तिनगरबासीको विलय हुने निश्चित छ ।
बुध–शान्ति अथवा बुधबारे र शान्तिनगरको मेल भएको खण्डमा हामीले प्रमुख वा उप प्रमुखको दावी गरी आफ्नो शान्तिनगरको अस्तित्व र विकासका लागि उपस्थिति देखाउन सक्ने प्रवल सम्भावना छ । त्यसकारण पनि नेतृत्वमा पकट बनाउन शान्तिनगर बुधबारेमा या बुधबारे शान्तिनगरमा मिल्न जरुरी छ ।
समग्रमा म शान्तिनगरबासी माझ के आफ्नो धारणा राख्न चाहन्छु भने हामी विचारहरु संकलन गरौं विश्लेषण गरौं, संस्लेषण गरौं र निश्कर्ष निकालौं, कतै हामीलाई हराउँदै गएको आफ्नो राजनैतिक अस्तित्वको खतरा महसुस गरेका र पलायनका अवस्थामा पुगेका केही अवसरवादीहरुको विचारले दोधार त बनाएको हैन ? हामीले एक पटक मनन गरौं त कतै अर्काको अस्तित्वका लागि हामी आफ्नो अस्तित्व र पहिचान त मेटाउन खोजिरहेका छैनौं ? के हाम्रो अधिकार प्राप्त गर्ने बाटोलाई अर्काको स्वार्थमा भुलेका त छैनौं ? हामीले सोच्ने बेला आएको छ । हामीले निश्कर्ष निकाली निर्णयमा पुग्ने बेला भएको छ ।