Aamsanchar

प्रदेश १ : माओवादी केन्द्रको पदाधिकारीमा निर्वाचनको तयारी

Author Image
बुधवार, पौष ७, २०७८

विराटनगर : अधिवेशन सकिएको एक साता बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारी टुंगो लगाउन आज माओवादी केन्द्र प्रदेश १ ले निर्वाचनको तयारी थालेको छ। पदाधिकारी टुंगो लगाउन गठन भएको कार्यदल, प्रदेश १ मा रहेका पार्टीका केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक ​निष्कर्षहीन टुंगिएको छ। सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।

अधिवेशन सकिए यता पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएको र आकांक्षीहरूले दाबी नछाडेका कारण नेतृत्व चयनमा सहमति जुट्न सकेको थिएन।

नौ पदाधिकारीमा ४० भन्दा बढीको  दाबी

प्रदेश १ नेकपा माओवादी केन्द्रको नौ पदाधिकारीका लागि ४० भन्दा बढीको दाबी छ। पार्टी कार्यालय विराटनगरमा मंगलबार प्रदेश १ मा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरुको बैठकपछि बसेको छलफलमा ४० भन्दा बढी आकांक्षी देखिएका हुन्।

यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मंगलबार बसेको थियो।

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैंचाको विराटचोकमा सम्पन्न भएको थियो। अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि २७१ सदस्यीय कमिटी घोषणा गरिएको थियो। पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बोले दाबी गरिरहेका छन्।

Views: 393

प्रतिक्रिया (०)