Aamsanchar

बीएण्डसीको सामाजिककार्य : अर्जुनधाराका ९ वर्षीय बसन्तले निशुल्क उपचार पाउने भए

Author Image
शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले झापा अर्जुनधाराका एक बालकको निशुल्क उपचार गर्ने भएको छ । उपचार गर्ने खर्चको अभावमा विगत १० महिना देखि खोरमा थुनेर राखिएका ९ वर्षीय बालकको अस्पतालको टीमले शुक्रबार उद्धार गरी निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको हो ।

अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको उद्धार गर्न बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाई टीमको नेतृत्व गर्दै आफै खटिएका थिए ।

बिएन्डसीको तर्फबाट उद्दार गर्न पुगेको चिकित्सक र व्यवस्थापन टोली घरमा पुग्दा बालक खोरमै थिए । खोरमै पुगेका हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बालकको उपचार गरिदिने जिम्मा लिएका छन् । लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईले दुःख प्रकट गरे । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे ।

बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् ।

स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै यसअघि पनि उपचार अभावमा साङ्लामा बाँधिएका व्यक्तिलगायत धेरै विपन्नको बिएन्डसी हस्पिटलले निःशुल्क स्वास्थ्योपचार गरिसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

बालकको अवस्थाको बारेमा स्थानिय कमल पोखरेलले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए ।

 

Views: 523

प्रतिक्रिया (०)

सम्बन्धित खबर