Aamsanchar

पल शाहविरुद्ध थुनछेक बहस जारी, तारेखमा छुट्ने सम्भावना ज्यादै कम

Author Image
बिहिवार, चैत १०, २०७८

  बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए । बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो । त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए । बुधबार नै प्रतिवादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए । बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस जारी छ । बुधबार बहस नसकाएका कानुन व्यवसायीले बिहीबार कार्यालय समय सुरु भएलगत्तै बहस सुरु गरेका थिए । हाल प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहेका अधिवक्ताको बहस भइरहेको भन्दै प्रतिवादीका तर्फबाट ९ जनाले वकालतनामा दिएको र थप कानुन व्यवसायी पनि समावेश हुने भन्ने सुनेकाले बिहीबार पनि थुनछेक बहस सकिने सम्भावना कम रहेको श्रेष्तेदार कुँवरले बताए । उनले भने, ‘अहिले (१२ः१५) प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहनुभएकाले बहस गरिरहनुभएको छ । प्रतिवादीका तर्फबाट ९/१० जना कानुन व्यवसायीले बहस गर्ने भन्ने सुनेको छु । अझै केही कानुन व्यवसायी थपिने सम्भावना पनि छ । त्यसकारण अब बहस लामो हुने र कानुन व्यवसायी पनि थपिने हो भने आजै आदेश आउने सम्भावना कम नै होला । अब बहस छिटो भयो र कानुन व्यवसायी थपिएनन् भने आजै आदेश आउन पनि सक्नेछ ।सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ । तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्यादै कम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 681

प्रतिक्रिया (०)

सम्बन्धित खबर