सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाशिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ ।
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
सन् २०२२ को विश्व सम्पदा दिवसको नारा “Heritage and Climate through open, constructive and intergenerational dialogues”अर्थात् सम्पदा र जलवायु संरक्षणका लागि रचनात्मक र अन्तरपुस्ता संवाद भन्ने रहेको छ । अब पुरानो र नयाँ पुस्ता मिलेर सम्पदा संरक्षण अनुसन्धान र अभ्यासको पूर्ण सम्भाव्यता प्रवर्द्धन गर्दै रणनीतिहरू प्रदर्शन गर्ने यो वर्षको मुख्य योजना हुनेछ। श्रोत: हाम्रो पात्रो, गुगल