Aamsanchar

‘सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थाले’

Author Image
बिहिवार, वैशाख १५, २०७९

बिर्तामोड । पछिल्लो समय सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थालेको एक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् ।
मिडिया एक्सन नेपालले आयोजना गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समय सञ्चार क्षेत्रले महिलाका हरेक सवाललाई प्रथमिकता दिएको उल्लेख गरे । उनीहरुले पछिल्लो समय मिडियामा महिलाको संख्यात्मक वृद्धि भए पनि अझैं गुणात्मक विकासका लागि सबै मिडियाहरुले पहल गर्नुपर्ने बताएका छन् । सञ्चार गृहमा महिलाको सहभागिता बढेसँगै महिलाका सवालहरुले प्राथमिकता पाए पनि मिडियाको नेतृत्व तहमा कमै महिला मात्रै पुग्ने गरेको उल्लेख गरे ।

भर्चुअल रुपमा भएको कार्यक्रममा बोल्दै कर्पोरेट नेपाल डटकमकी प्रधान सम्पादक यशोदा तिम्सिनाले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन् । उनले अझै पनि महिलाहरु निर्णयक तहमा पुग्न नसकेको भन्दै मिडिया एक्सन नेपालले महिलाको दक्षता अभिवृद्धिका लागि पहल गर्नुपर्ने उल्लेख गरिन् । पछिल्लो समय पत्रकारहरुमा अध्ययन गर्ने बानीमा कमी आएको भन्दै उनले अध्ययन बिना कुनै पनि सफलता प्राप्त गर्न नसकिने धारणा व्यक्त गरिन् ।

सञ्चारमाध्यमहरुले महिलाका सवालहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले महिला प्रति मिडिया हाउसको विस्तारै विश्वास बढ्दै गएको बताइन् । उनले महिलाले पनि जिम्मेवार रुपमा काम गर्न सक्छन् भन्ने हिसाबले क्षमता प्रर्दशन गरेकाले राष्ट्रिय स्तरका सञ्चारमाध्यममा महिलाको सहभागितामा वृद्धि भएको उल्लेख गरिन् ।
त्यस्तै द हिमालन टाइम्स डेलीका सम्पादक राजन पोख्रेलले महिलाले जिम्मेवारीपूर्वक काम गर्ने भएकाले सञ्चारमाध्यममा सबै विधामा महिलाको सहभागिता बढेको बताए । उनले आफू कार्यरत सञ्चार माध्यमको अधिकांश विधागत प्रमुखमा महिला रहेको र महिलाले जिम्मेवार रुपमा काम गर्न सक्ने बताए ।
पछिल्लो समय महिलाको सहभागिता बढे पनि अझै महिलाले आफ्नो क्षमता अभिवृद्धिका लागि पहल गर्नुपर्ने धारणा व्यक्त गरे । महिलाले पुरुष सरह काम गर्न सक्छु भनेर लाग्ने हो निर्णायक तहमा महिलाको संख्यामा वृद्धि हुने उनले बताए ।

कार्यक्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पुरुष पत्रकार र महिला पत्रकारमा अझै पनि पारिश्रमिकको विभेद रहेको उल्लेख गरिन् । काम एकै प्रकृतिको भए पनि महिला पत्रकारहरुलाई पारिश्रमिक कम दिने गरेको भन्दै पुरुष सरह काम गरेपनि समान रुपमा तलब हुनुपर्ने विचार व्यक्त गरिन् । राष्ट्रिय स्तरकै सञ्चारमाध्यमले काम लगाएर पारिश्रमिक नदिएको तथा सरकारले तोके बमोजिम पारिश्रमिक नदिने सञ्चार गृहविरुद्ध सबै पत्रकार एकजुट हुनुपर्ने उल्लेख गरिन् ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिले देशभरका पत्रकारको अवस्थाको विषयमा स्थलगत रुपमा बुझ्ने काम गरिरहेको र पछिल्लो समय सञ्चारमाध्यममा महिलाको सहभागितामा वृद्धि भएको उल्लेख गरिन् । उनले सञ्चारमाध्यममा महिलाका सवालहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका संस्थाहरु अब्बल रहेको धारणा ब्यक्त गरिन् ।

सञ्चारमाध्यममा महिलाको सहभागिता अभिवृद्धिका साथै महिलाका रहेक सवाललाई उठान गर्न मिडिया एक्सन नेपालले विभिन्न समयमा पत्रकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिरहेको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । उनले सञ्चार गृहहरुले महिलालाई नेतृत्व दिन अग्रसरता देखाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा मिडिया एक्सन नेपालका कार्यवहाक सचिव गणेश घिमिरे, प्रदेश १ संयोजक नरेन्द्र ढकाल लगायत सातै प्रदेशका संयोजकका साथै विभिन्न सञ्चार माध्यममा आवद्ध सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियङ्का झाले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 463

प्रतिक्रिया (०)