Aamsanchar

विमान दुर्घटना : एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा

Author Image
सोमवार, जेठ १६, २०७९

जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो।

मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।

विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन्।

शुक्रबार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरु शनिबार पोखरा पुगेका थिए। आइतबार बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको भएपनि कहिल्यै नफर्कने गरी मुक्तिनाथको दर्शन गर्न नपाउँदै अस्ताएका छन्।

दुर्घटनामा मृत्यु भएकाले परिवारको आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन्। सान्त्वना दिन मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो आफन्तको घर पुगेका छन्।

उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। विमानमा सवार २२ मध्ये हालसम्म १६ जनाको शव फेला परेको छ।

आइतबार बिहानदेखि हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा साेमबार बिहान मात्रै फेला परेकाे थियाे। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियाे। यार्सागुम्बा खाेज्न गएका स्थानीयले दुर्घटना अवस्थामा विमान फेला पारेका थिए।

आइतबारे दिनभरको खोजी प्रयास मौसम खराबीका कारण असफल भएपछि आज विहानै नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको थियो। आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो।

नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र  १३ नेपाली यात्रु रहेका थिए। जसमा धनुषाका एकै परिवारका ७ जना रहेका छन्। यस्तै गोरखाको शहीद लखन गाउँपालिका-५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन्।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 498

प्रतिक्रिया (०)

सम्बन्धित खबर