

काठमाडौं : बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले कबड्डी ४ की अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका छन्। तामाङले काठमाडौं जिल्ला अदालतमा अभिनेत्री मगर र प्राविधिक ठकुरीविरुद्ध गाली बेइज्जती तथा कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन्।


अभिनेत्री मगरले माफी नमागेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भन्दै तामाङले कानुन बमोजिम सजाय हुनुपर्ने माग गरेका छन्। गत जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी ४ को प्रचार प्रसारका क्रममा सिभिल मल पुगेकी मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै तामाङलाई थप्पड हानेकी थिइन्। त्यसपछि प्रहरीमा उजुरी पनि गरेकी थिइन्। बौद्ध समुदायले यसको आलोचना गर्दै आएको थियो।


दुवै पक्षबीच सहमति भएपछि तामाङ थुनामुक्त भएका थिए तर उक्त केस सेलाएको भने थिएन। सोही घटनाका कारण फिल्मलाई भारतको सिक्किममा ब्याण्ड पनि गरिएको थियो।
अब तामाङले अदालतमा केस दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ।

