Aamsanchar

रहिनन् गायिका स्मिता घिमिरे

Author Image
मङ्गलवार, साउन ३१, २०७९

काठमाडौं – गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’

घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् । उनको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाएकी छन् । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गरेकी थिइन् । ४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक  रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।

मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिइन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।

प्रशस्त आत्मविश्वासले भरिएकी ऊर्जाशील गायिका घिमिरेले काठमाडौंमै स्तन क्यान्सरको शल्यक्रिया गराएर त्यसमाथि विजय प्राप्त गरेकी थिइन् । केही साताअघि नेपाली कलाकारहरुको एक समूहले गायिका घिमिरेलाई उनकै निवासमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर