Aamsanchar

४० वर्षीया महिलाकाे हत्या आराेपमा युवक पक्राउ

Author Image
बिहिवार, असोज १३, २०७९

ढल्केवर(धनुषा) -महोत्तरीमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मटिहानी नगरपालिका–१ सानो धिरापुरकी ४० वर्षीया अमना खातुनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका २४ वर्षीय मोजाहिर अन्सारीलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी आरोपी अन्सारीले हत्या स्वीकार गरेको बताएका छन्। गत शुक्रबार राति विभत्स हत्या गरिएको अवस्थामा खातुनको शव फेला परेको थियो। प्रहरीले अनुसन्धानको क्रममा गत आईतवार अन्सारीलाई पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा आरोपित अन्सारी हत्या भएको स्थल वरपर देखिएको प्रहरीको दावी छ। अनुसन्धानका लागि प्रहरीले ल्याएको तालिम प्राप्त कुकुरलेसमेत उनकै घर वरिपरि संकेत गरेको प्रहरीको भनाई छ। उनको घरमा हत्यामा प्रयोग भएको फलामको पेचकस, रगत लागेको गन्जीसमेत बरामद भएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। मृतकले लगाएको पाउजु तथा नाकको नथुनीसमेत आरोपी मोजाहिरले लासबाट निकाली जलेश्वरस्थित एक सुन पसलमा ६ हजारमा बिक्री गरेकोमा पाउजु प्रहरीले बरामद गरेको छ भने नथुनी पसलवालाले गलाइसकेको अनुसन्धानमा खुलेको बताइएको छ। यता लाससँगैसमेत टिसर्ट र अन्य केही कपडाहरू बरामद भएकोमा सो कपडासमेत आफ्नो भएको मोजाहिरले स्वीकार गरेको प्रहरी उपरीक्षक पंगेनीले सुनाए।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न पक्षहरूबाट अनुसन्धान गर्दा मृतक खातुनलाई आरोपित अन्सारीले फलामको पेचकसले घाटी, छाती र पेटमा प्रहार गरी मृतकको सलले घाटीमा कसी हत्या गरेको तथ्य खुल्न आएको महोत्तरीका प्रहरी प्रवक्ता चन्देश्वर यादवले बताए। उनले घटनाको कानुन बमोजिम कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको बताए।

यस्तो थियो घटना

मटिहानी नगरपालिका–१ सानो धिरापुर बस्ने मोहम्मद अन्सारूल अंसारीको श्रीमती रहेकी खातुन गत शुक्रafबार बिहान ११ बजेको समयमा घाँस काट्न भनि घरबाट हसिँया र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्।

बिहानै घरबाट निस्केकी खातुन साँझसम्म पनि घर फर्की नआएपछि घर, छिमेकी र आफन्त समेतमा खोजी गर्दा भेटिनन्। पछि स्थानीयले प्रहरी समेतलाई खबर गरी खोज्ने क्रममा राति पौने १० बजे बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैँचाको बाँसघारीमा विभत्स हत्या गरिएको अवस्थामा खातुन शव फेला परेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर