Aamsanchar

कार्तिक स्नान र आकाश दीप दान आरम्भ

Author Image
आइतवार, असोज २३, २०७९


बडा दसैँको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदै छ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारिक रूपमा बडा दसैँको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारिक रूपमा अन्त भएको छ । आजका दिन सन्ध्या कालमा घरघरमा दीप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपूजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दीप बनाउँदा बाँसको लामो लिङ्गोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ती बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तीहरू श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तीहरू हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तीहरूका लस्करले समग्र गाउनै दुधिलो प्रकाशमा रङ्गिएको देखिन्छ । यी बत्तीहरूलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशे दीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवा तास खेल्ने चलन पनि आजको दिन प्राचीन कालबाटै सुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरी घरघरमा विशेष रूपमा विधीविधान पूर्याएर गरिने तुलसी पूजा पनि आजैदेखि सुरु भएको छ । यसरी कार्तिक स्नानको सुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कार्तिक स्नानको सुरुवात, आकाशेदिप प्रज्वलन आजबाट सुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्साउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरूपको अर्चना गरिँदै जाग्राम गरेर भजन कीर्तन गर्दै मनाइन्छ । अब हिउँद सुरु भइसक्यो, शीतका थोपाहरू खस्न थालेका अनि रातहरू छोटा हुन थालेका छन्, दसैँको अन्तसँगै अब तिहारका दिनहरूको हामी सबैलाई प्रतीक्षा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर