Aamsanchar

१०० जना बालबालिकाको मृत्यु भएपछि सिरप औषधि बिक्रीमा रोक

Author Image
बिहिवार, कार्तिक ३, २०७९

जकार्ता – इन्डोनेसियामा झण्डै एक सयजना बालबालिकाको मृत्यु भएपछि सम्पूर्ण सिरप र तरल औषधि बिक्री वितरणमा रोक लगाइएको छ । केही साताअघि मात्र गाम्बियामा करिब ७० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरपको बिक्रीमा बन्देज लगाइएको थियो ।

इन्डोनेसियाले छानबिनपछि केही सिरप औषधिमा मृगौलालाई गम्भीर हानी पुर्‍याउने तत्वहरू फेला परेको जनाएको छ । ती औषधि स्थानीय तवरमै उत्पादन गरिएको वा आयातित हुन् भन्ने स्पष्ट भइसकेको छैन ।

बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले करिब २०० जना बालबालिकामा यस्ता औषधिको नकारात्मक असर फेला परेको बताएका छन् । अधिकांश पीडित बालबालिका पाँच वर्ष उमेर मुनिका छन् ।

गत महिनाको सुरुमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाम्बियामा भएको करिब सत्तरी बालबालिकाको मृत्युसँग चारवटा भन्दा बढी कफ सिरपको हात रहेको भन्दै विश्वव्यापी सतर्कता विज्ञप्ति जारी गरेको थियो ।

डब्ल्यूएचओले त्यहाँ प्रयोग गरिएका तथा भारतको एउटा औषधि निर्माण कम्पनीले उत्पादन गरेको कफ सिरपहरूमा अनावश्यक मात्रामा डाइइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

बीबीसीबाट ।

Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर