Aamsanchar

राष्ट्रिय विभूति गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरू

Author Image
शुक्रवार, कार्तिक २५, २०७९

१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।

पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ ।

आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवन गरी असामाजिक क्रियाकलाप गरी मति भ्रष्ट हुनु हुदैन, विवाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडक सँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा  साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’ लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउँदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलावा फलफूल, नैवेद्य, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपिको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति अनि तत्कालीन सामाजिक अर्थ व्यवस्थालाई राम्ररी आँकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थ बिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो विश्वयुद्धमा तत्कालीन ब्रिटिश साम्राज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाइ लड्दा लड्दै यो लडाई बाट विश्वमा शान्ति स्थापना गर्न नसकिने यसले झनै रक्तपात, हत्या र हिंसामात्रै निम्त्याउने वास्तविक शान्ति भनेको शिक्षा , तप र धर्म तथा मौलिकताको पहिचान भएमा मात्र आउँछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरूलाई विभिन्न सुझावहरू दिए ।

युमाठेवा को आराधना गर्ने,
श्रीजंगा लिपिमा अध्ययन गराउने,
नैवेद तथा फूलपाति बाट पूजापाठ गर्ने,
माङहिङ निर्माण गर्ने,
मादक पदार्थ सेवन नगर्ने,
छोराको बिहेमा दाम नलिने,
स्वदेशी कपडा लगाउने,
छोरा र छोरीलाई समान शिक्षा दिने,
मृतात्मालाई अदुवा, चामल तथा फलफूल चढाउने

 राष्ट्रिय विभूति घोषणा
नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् । फाल्गुनन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्द
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ । उहाँले दिनुभएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ ।

नेपालमा पहिलो पटक लिम्बु सम्मेलन
गुरु फाल्गुनन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।

गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ । तर, १९४२ सालमा जन्मिँदा फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिनुभएका फाल्गुनन्दको न्वारनमा नर ध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुननन्द रहेको हो ।

आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुननन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूल देवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछा मासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।

सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरूले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुननन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)