कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.२ स्थित जामुनखाडी सिमसार उत्तर तर्फ रहेको प्राकृतिक रङ्गशालामा आजबाट सुरु भएको हर्क राई स्मृति नक आउट फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । आयोजक जामुनखाडी स्पोटिङ क्लबलाई २ का विरुद्ध ३ गोल लगाएर उर्लाबारी फुटबल क्लब विजयी भएको हो ।
विजयी टिमको तर्फबाट जर्सी नं. १० का सञ्जय धिमालले २ र जर्सी नं. १७ का पासाङ तामाङले १ गोल लगाएका थिए । उपविजेता आयोजक जामुनखाडीको तर्फबाट रोशन बर्देवाले २ गोल लगाउन सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच जामुनखाडीका जर्सी नंं ७ का रोशन बर्देवा घोषित भएका छन् ।
फाइनल खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १११ र दोस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । हरेक दिन उत्कृष्ट खेलाडीलाई नगद २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
भोलि हुने खेलमा पथरी फुटबल क्लब र शनिश्चरे फुटबल क्लब बिच प्रतिष्पर्धा हुने खेल तालिकामा उल्लेख छ । खेलमा रेफ्री लाक्पा तामाङ, सुनिल तामाङ, युवराज बजगाईँ र फोर्थ रेफ्री लिला बास्तोला रहेका छन् ।
जामुनखाडी स्पोटिङ क्लब र जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह आयोजक रहेर खेलाइएको खेलमा प्रदेश १ का विभिन्न जिल्लाबाट ८ वटा क्लबले सहभागी जनाउने छन् ।
प्राकृतिक रङ्गशालाको उद्घाटन
खेल सुरु हुन अघि जामुनखाडी प्राकृतिक रङ्गशालाको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा र कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले संयुक्त रुपमा रङ्गशालाको उद्घाटन गरेका थिए ।
जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमराज सिटौलाको अध्यक्षतामा आयोजित खेलकुद कार्यक्रममा प्रमुख अतिथि साँवा, सामुदायिक वनका पूर्व अध्यक्ष पर्शुराम गिरी, वडा नं. २ का अध्यक्ष बलराम राईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विनोद राना मगरले गरेका थिए ।