एजेन्सी । भारतको झारखण्डकी अभिनेत्री रिया कुमारी उर्फ ईशाआलियाको हत्या उनका श्रीमानले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध उजुरी दिएपछि यो कुरा बाहिर आएको हो । यसैबीच प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ । यसअघि उनले प्रहरीलाई अपराधीहरूले लुटपाट गरी श्रीमतीको हत्या समेत गरेको भन्दै कहानी सुनाउँदै आएका थिए । तर, प्रहरीले उनलाई अहिले घटनामा संग्लन भएको भन्दै अदालतमा पेश गरेको छ ।
ईशा र प्रकाश गत सोमबार कारमा छोरीसहित कोलकाता प्रस्थान गरेका थिए। बिचमा लुटपाट गर्ने नियतले केही अपराधीहरुले गाडी रोकेका थिए । सोही क्रममा प्रकाशसँग विवाद भयो । यो देखेर ईशा पनि अपराधीसँग भिडिन् र श्रीमानलाई बचाउन थालिन् । त्यही क्रममा अपराधीले गोली चलाएको थियो ।
सञ्चार माध्यामका अनुसार गोली ईशाको कानमा लागेर उनको मृत्यु भएको थियो । त्यसपछि प्रकाश शव लिएर कोलकाता प्रहरी चौकी पुगे । ईशालाई पोइन्ट जिरो रेन्जबाट गोली प्रहार गरिएको प्रहरीको बयान छ ।
हावडा ग्रामीण एसपी स्वाती भङ्गलियाले ईशाका परिवारका सदस्यहरूले प्रकाश विरुद्ध मुद्दा दर्ता गरेको बताइन्। परिवारले उनीहरुमाथि धेरै गम्भीर आरोप लगाएका छन् । ईशालाई पहिले पनि उनको श्रीमानले कुटपिट गर्ने गरेको र यातना दिने गरेको आफन्तले बताएका छन् ।
दुवै झारखण्ड फिल्म उद्योगसँग सम्बन्धित छन्। प्रकाश निर्देशक हुन् र ईशाले धेरै झारखण्डी र नागपुरी एल्बमहरूमा काम गरिसकेकी छिन्। दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका थिए । पछि दुवैले प्रेम विवाह गरे । दुवैबीच विवाहपछि मनमुटाव भएको बताइएको छ । सुरुमा प्रकाशले ईशालाई अपनाउन विवाहको लागि अस्वीकार गरेका थिए । मुद्दा अदालतसम्म पुग्यो, त्यसपछि दुवैले विवाह गरे । दुबैको एक छोरी पनि छिन् ।
प्रकाश र ईशाको सम्बन्ध राम्रो थिएन । सम्बन्ध तोड्नका लागि हत्याको सम्पूर्ण षडयन्त्र प्रकाशले नै रचेको ईशाको पारिवारिक स्रोतले बताएको छ । घरमा यस्तो घटना घट्यो भने पक्राउ पर्ने डरले प्रकाशले यो घटनालाई पूरा योजना बनाएर कोलकाता जाने तयारी गरेको र कथा बनाएर सहजै छुट्ने उनको विचार थियो ।
प्रकाशको पहिले नै विवाह भइसकेको थियो । उनको पहिलो श्रीमतीबाट दुई सन्तान पनि छन् ।