काठमाडौं – चलचित्र ‘भष्मे डन’ मा सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रमा सौगात मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन् ।
चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा विपिन फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने भएका छन् भने सौगातको भूमिकाको बारेका खुलाइएको छैन् ।
निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने चलचित्रको पटकथा भने खगेन्द्रले नै लेखिरहेका छन् । चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।
‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि ‘भष्मे डन’ मा देखिनेछन् । काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर चलचित्रको छायांकन हुने छ ।